
इलाम: इलाममा आयोजित एक कार्यक्रमका बक्ताले ‘दृष्टिकोणलाई व्यवहारमा रूपान्तरण नगरेसम्म जातीय विभेद अन्त्य नहुने’ बताएका छन् ।
उनिहरुले शनिबार मानव अधिकार मञ्चले आयोजना गरेको६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा “जातीय विभेद अन्त्यका लागि गैर–दलित समुदायको भूमिका” विषयक छलफल कार्यक्रम बोल्दै अहिले पनि जातीय विभेदको फरक स्वरुप विद्यमान रहेको बताए ।
मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले विचार र दृष्टिकोणलाई व्यवहारमा रूपान्तरण नगरेसम्म जातीय विभेद अन्त्य नहुने बताए । उनले अहिले पनि समाजमा फरक स्वरूपमा जातीय विभेद विद्यमान रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि गैर–दलित समुदायको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे ।
कानुन व्यवसायी प्रदीप अधिकारीले आत्ममूल्याङ्कन र क्षमता विकासमार्फत विभेद न्यूनीकरण गर्न सकिने बताउँदै जातीय विभेदलाई दण्डनीय कार्यका रूपमा लिनुपर्ने धारणा राखेका थिए । यातायात व्यवसायी पप्पु शिवाले जातीय विभेद घरबाटै सुरु हुने भएकाले यसलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सटेन्द्र जबेगुले विभेदका अनुभवहरू खुला रूपमा अभिव्यक्त गर्नुपर्ने र आत्ममूल्याङ्कनसहित अघि बढ्नुपर्ने बताए । नेकपा एमाले इलामका अध्यक्ष ठाकुर नारायण श्रेष्ठले गैर दलित समुदाय दर्शक मात्र नभई परिवर्तनका साझेदार बन्नुपर्नेमा जोड दिँदै विभेदको खुलेर विरोध गर्नुपर्नेमा जोड दिए ।
नेपाल बाल संगठनका अध्यक्ष इश्वरी तामाङले गैर–दलित समुदायमा अझै पनि विभेद कायम रहेको उल्लेख गर्दै दलित समुदायभित्रको सौन्दर्य र सकारात्मक पक्षबारे चर्चा आवश्यक रहेको धारणा राखे । युवा राजनीतिकर्मी अर्जुन योङहाङले मुन्धुम जस्ता सांस्कृतिक दार्शनिक आधारहरूमा भेदभाव नहुने भएकाले त्यस्ता चेतनाको विस्तारबाट पनि विभेद न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।
शिक्षक योगेन्द्र शंकरले ठूला आन्दोलनहरूमा जातीय विभेदका मुद्दाहरू समुचित रूपमा उठान नभएको उल्लेख गर्दै यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । विद्यार्थी रेबिका तोलाङ्गीले समाजका कथित प्रतिष्ठित व्यक्तिहरू, शिक्षक तथा राजनीतिकर्मीबाट आफूमाथि भएको विभेदको अनुभव सुनाए ।
मञ्चका उपाध्यक्ष डिमला राईले समाजमा विद्यमान विभेद अन्त्यका लागि व्यक्तिगत व्यवहार र संस्कारमा परिवर्तन अनिवार्य रहेको बताइन् । उपाध्यक्ष डिमला राईको अध्यक्षतामा भएको कार्यक्रमको विषय विज्ञ कर्णबहादुर नेपालीले जातीय विभेदका विषय उठान गर्नुहुदै कार्यक्रमको सहजिकरण गरेको छलफलमा मञ्चका सन्तोष मगरले जातीय विभेद अन्त्यका लागि कानुन र अन्तर्राष्ट्रिय महासन्धीको ज्ञानसँगै व्यक्तिगत स्तरबाट, विशेषगरी घरबाटै परिवर्तन सुरु गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रम जीआइजेड सिपिएसको सहयोगमा सञ्चालन भएको मानव अधिकार मञ्चले जनाएको छ ।

115 पटक हेरिएको 














