
आज अग्रेजी महिनाको ९ अगस्ट अर्थात ३१ औ अन्तर्राष्ट्रिय आदिवासी दिवस । विश्वका आदिवासी जनजाति सम्बद्ध संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै मनाउँदै छन् ।
२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि दिवस मनाउँन थालिएको हो ।
आदि भनेको के हो?
‘आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।
शब्दकोशमा कुनै भूभाग, देश वा स्थानमा पहिलेदेखि नै बसोबास गर्दै आएको जातिलाई आदिवासी भनी उल्लेख गरिएको पाइन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा आदिवासी/जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय हो भनी उल्लेख गरिएको छ ।
राष्ट्रसङ्घका अनुसार विश्वभरि ४७ करोड ६० लाखभन्दा बढी आदिवासी रहेका छन् । हरेक देशमा आदिवासी छन् । नेपालमा ६० थरीका आदिवासी जनजाति छन् । किसान, कुमाल, कुशबाडिया, गुरुङ, चेपाङ, छन्त्याल, छैरोतन, जिरेल, झाँगड, डोल्पो, ताङबे, ताजपुरिया, तामाङ, थकाली, थामी, राई, याक्खा, दनुवार, नेवार, मगर, लिम्बू, शेर्पा, हायु, थारू आदि आदिवासी जनजाति हुन् ।
मानव सभ्यताको विकाससँगै बसाई-सराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रीतिहरूमा कमी आउन थालेको छ । विश्वको कूल जनसङ्ख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कूल गरिब जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेसा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हाबी हुँदै आएका छन् ।
संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्र
संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । विभिन्न अध्यनहरुले स्पष्टसँग आदिवासी र गैर आदिवासी समुदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा भएको ठुलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलो कालागि पुस्तौँदेखि एक ठाउँमा खनी-खोस्री, प्रकृतिसँग पौंठेजारी खेल्दै आएका आदिवासी समुदाय विश्व कोलागि प्राचीन सम्पत्ति हो र उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ ।
बहु-जाती बहु-धर्म र बहु-संस्कृति भएको हाम्रो देश नेपालका अधिकांश भू-भागमा आदिवासी समुदायहरू छन् र तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रीति अनि मौलिकतालाई जीवित राख्ने भरमग्दुर कोसिस गर्दै गरेको उदाहरण एउटा छ भने अर्को तर्फ त्यही मौलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरूलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको कुराहरू अत्यासलाग्दो छ ।तितो सत्य के हो भने आदिवासीहरूको बसोबासलाई बिगार्दै अनि उनीहरूलाई विस्थापित गर्दै बनाइएका सहर, बसाइएका सभ्यता र जोडिएका कारखाना भन्दा उनीहरूको आफ्नो ठाउँमा हुने मौलिक उपस्थिति नै संसार र समूदायकालागि फाइदा कारक हुनेछ ।

169 पटक हेरिएको 











