
जीतपुर: देउमाई नगरपालिका ९ जीतपुरको पुँवार गाउँमा माटो परीक्षण र बाली उपचार सिविर बुधबार सम्पन्न भएको छ ।
सिविरमा एक सय पाँचले माटो र ३६ जनाले बालीको स्वाथ्य जाँच गरेको सिविरको स्थानीय व्यवस्थापक पुँवार गाउँ समाज संस्थाका अध्यक्ष राम पुँवरले जानकारी गराए ।
राष्ट्रीय कृषक समूह महासंघ नेपालको समन्वयमा तथा देउमाई नगरपालिका कृषि विकास शाखाको सहयोगमा कृषि ज्ञान केन्द्रको आयोजनामा सिविर सम्पन्न भएको हो ।
पुँवार गाउँ समाज संस्थाका उपाध्यक्ष मात्रिका अधिकारीको अध्यक्षतामा भएको शिविरमा स्थानीय उत्कृष्ठ तरकारी उत्पादन बाजारीकरण गरेकोमा निलकुमारी बेघा लिम्बू, रैथानेबाली उत्पादनमा युवराज मगर, युवा कृषि व्यवसायी बासुदेव आचार्यलाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष याम तुम्बाहाम्फे लिम्बूले उद्घाटन गरेको शिविरमा स्थानीय उत्कृष्ठ कृषक टेकनाथ खनाललाई समेत सम्मान गरिएको थियो ।
शिविरमा सहभागीले कृषकको उत्पादनले अझै पनि उचित मूल्य पाउँन नसकेको गुनासो गरेको कार्यक्रममा प्रदेश सभा सदस्य गोविन्द गिरी सरकारले कृषकको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र इलामका प्रमुख रविकिरण अधिकारीले किसानको उत्पादन बढाउँन माटो उर्वरा शक्तिको बारेमा जानकारी लिनु आवश्यक रहेको बताए । उनले माटोको परीक्षण गरेर मात्रै सहि तरिकाले उत्पादन बढाउँन सकिने भएकोले किसानले समय समयमा माटो जाँच गर्न आग्रह गरे ।
प्रमुख अधिकारीले लगाएको बालीको स्वाथ्यलाई समेत ध्यान दिन आग्रह गर्दै बालीको समेत सहि ढंगले स्वाथ्य जाँच गर्नु पर्नेमा जोड दिए ।

167 पटक हेरिएको 











