इलाम: इतिहासको सम्झना, संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने चार दिने ‘निसान पदयात्रा’ भोली पुस २३ गते शुरु हुने भएको छ । पदयात्राको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।
सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको आयोजनामा हुने पदयात्रा पुस २६ गते इलाम नगरपालिकाको माइस्थान मन्दिरमा पुगेर पदयात्रा सम्पन्न हुनेछ ।

पदयात्राको नेपाली सेनाको रणसार्दुल गणको संयोजन गर्नेछ । गणपति प्रह्लाद घलेका अनुसार नेपाल–भारत पूर्वी सीमाना क्षेत्र मेची बजारबाट पदयात्राको शुभारम्भ हुनेछ। यात्राको पहिलो दिन सूर्योदय नगरपालिकाको रम्फोकमा बास हुनेछ ।
दोस्रो दिन सोही नगरपालिकाको पूर्णेडाँडामा बास र २५ गते सूर्योदय नगरपालिकाबाट पुनः पदयात्रा सुरु भई माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार पुग्नेछ। पुस २६ इलाम नगरपालिकाको माइस्थान मन्दिरमा पुगेर पदयात्रा सम्पन्न हुने जनाइएको छ ।
गएको वर्षदेखि शुरु भएको निसान पदमार्गमा आधारित यस पदयात्राले इतिहास, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने लक्ष्य लिएको आयोजकको भनाई छ ।

नेपाल एकीकरण कालमा तत्कालीन श्रीनाथ पल्टनले पूर्वी भूभाग विजय गरी गाडेका निसान तथा सुगौली सन्धिपछि फर्काइ पुनः स्थापना गरिएका ऐतिहासिक स्थानलाई समेटेर ‘निसान पदमार्ग’मा यात्रा शुरु गरिएको हो ।
ऐतिहासिक तथ्यअनुसार श्रीनाथ पल्टनले भारतको नागरी गढीबाट फर्काएको निसान शुरुमा सूर्योदय नगरपालिकाको करर्फोकस्थित पूर्णेडाँडामा राखिएको थियो।
सुरक्षाका कारण पछि निसान नामसालिङको हात्तीटारमा सारियो । अन्त्यमा इलामको माइस्थान मन्दिर परिसरमा स्थापना गरिएको इतिहास छ। हाल निसान माइस्थान मन्दिर परिसरमै स्थापना गरिएको छ।
इतिहासअनुसार पृथ्वी नारायण शाहद्वारा नेपाल एकीकरण हुँदा पूर्वतर्फ नेपालको सीमा टिस्टासम्म फैलिएको थियो। विसं १८७२ को सुगौली सन्धिपछि नेपालको पूर्वी सीमा खुम्चिँदै हालको मेची नदीसम्म सीमित भयो। पृथ्वी जयन्तीको अवसर पारेर आयोजना गरिएको यस पदयात्रामा करिब पाँच हजार जनाको सहभागिता रहने अनुमान छ ।

103 पटक हेरिएको 











