भोली माघ १५ गते बिहिबार इलाममा समता साहित्य उत्सव हुने


सेवारो खबर  61 पटक हेरिएको

इलाम: समता साहित्य उत्सवको पाँचौं संस्करण माघ १५ गते इलामको समता स्कुलमा हुने भएको छ ।

शब्द, सिर्जना र प्रेरणाको साझा उत्सवका रूपमा स्थापित समता साहित्य उत्सवमा विविध साहित्यिक गतिविधि हुने समता स्कुल पूर्वी कन्सोर्टियमले जनाएको छ ।

पाँचौं संस्करणको समता साहित्य उत्सवमा भारतको दार्जिलिङ र मिरिकसहित झापा, इलाम, पाँचथर तथा ताप्लेजुङलगायत विभिन्न जिल्लाबाट कवि, साहित्यकारको सहभागिता रहनेछ ।

उत्सवमा सहभागी हुने प्रमुख स्रष्टामा कवि महेन्द्र स्याङ्बो, विवश बलिभद्र कोइराला, कविता राई गाउँले, समदर्शी काइँला, प्रतिभा पौडेल, प्रकाश थाम्सुहाङ, डा. देवी क्षेत्री दुलाल तथा गायक राजेश चाम्लिङ राईलगायत रहने आयोजकले जानकारी दिएको छ ।

उत्सवमा साहित्यिक सत्रसँगै सोही दिन समता स्कुलका विभिन्न जिल्लाबाट सहभागी विद्यार्थीबीच ‘अन्तर समता कविता वाचन प्रतियोगिता’ समेत हुनेछ ।

नेपाली भाषा, साहित्य तथा सिर्जनात्मक चेतनाको विकास गर्ने उद्देश्यसहित समता स्कुल पूर्वी कन्सोर्टियमले २०७६ सालदेखि निरन्तर आयोजना गर्दै आएको छ ।

सन्तोष श्रेष्ठको अगुवाइमा संगठित समता स्कुल पूर्वी कन्सोर्टियमले बौद्धिक, सिर्जनात्मक तथा शैक्षिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको आयोजकले जनाएको छ ।

साहित्य उत्सवको संयोजन कवि विमल वैद्यले गर्ने बताइएको उनी कन्सोर्टियमका साहित्य दूतसमेत हुन् ।

प्रतियोगिताले विद्यार्थीलाई आफ्ना भावनात्मक अभिव्यक्ति प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै साहित्यिक आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार