
इलामः अनौपचारिक सेवा केन्द्र इन्सेकले ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” बुधबार आज गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना हुने एक कार्यक्रममा पुरस्कार वितरण गर्ने इन्सेकले जनाएको छ ।
यस वर्षको ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ दाप्चाकी ६२ वर्षीया पूर्णीमाया लामालाई प्रदान गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निणर्य गरेको छ ।
लामाले पुरस्कारमा सम्मानपत्रसहित ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुहुनेछ ।
सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत लामा सङ्क्रमणकालीन न्यायिक प्रकृया पूरा हुन बिलम्व भइरहेको परिप्रेक्ष्यमा उहाँको न्याय प्राप्तिको उत्कट आकाङ्क्षाको सम्मान न्यायको माग गरिरहेका सबै द्वन्द्व पीडितहरूका लागि प्रोत्साहनको विषय हो भन्ने हाम्रो ठहर छ गर्दै पुरस्कार दिने निणर्य गरेको विज्ञप्तीमा उल्लेख छ ।
इन्सेक कार्यसमितिको साउन ७ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिशका आधारमा लामालाई ३० औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित गर्ने निणर्य गरेको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा भएको थाई एअर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याउनुभएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।
नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’ को अवसर पारेर पुरस्कृत गरिँदै आएको छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व. दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मा, रुकैया खातुन, मानव अधिकारकर्मी मोहनसिंह थेबेलगायत २९ जना सम्मानित भइसकेका छन् ।


211 पटक हेरिएको 











