
इलाम: किरात याक्थुङ चुम्लुङले ताप्लेजुङ मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भएको घटनाको निश्पक्ष छानबिन गरी सार्वनजिक गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकाकारकर्मीसँग माग गरेको छ ।
चुम्लुङले आइतबार बिज्ञप्ति जारी गर्दै मुक्कुमलुङ क्षेत्रमा राज्य आतङ्क बन्द गर्न माग गर्दै तत्काल सशस्त्र प्रहरी फिर्ता गरेर केवलकार निर्माण कार्यको खारेज गर्न माग गरेको छ ।
‘मुक्कुम्लुङ क्षेत्रमा सशस्त्र प्रहरीले निहत्था नागरिकमाथि गरेको सशस्त्र आक्रमण उपर स्वन्तत्र र निष्पक्ष छानविन समिति गठन गरी छनविन गर्न जोडदार माग गर्दछौँ । प्रहरी ज्यादतीको अनुगमन गरी सरकारबाट भएको मानव अधिकार उलङ्घनको सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरु समक्ष हार्दिक अपिल गर्दछौँ,’ चुम्लुङकी महासचिव निरन्ति तुम्बापोले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘प्रहरीको गोली सगुन लावतीको छातीमा, याम लिम्बुको तिग्रामा र मर्धान पालुङवाको दाहिने कुममा साथै मङ्गल लावतीको टाउकोमा चोट लागेको छ र उहाँहरु अवस्था गम्भीर रहेको छ । यसरी नै दिपेश मादेन लगायत ५५ जना नागरिकहरु घाइते हुनु भएको छ । उहाँहरुको स्वास्थ्य लाभको कामना गर्दाछौँ । प्रहरीले धरपकड गरेको चन्द्र सागर लिम्बु, लक्षमण लिम्बु लगायतलाई बिना शर्त तुरुन्त रिहाइ गर्न माग गर्दछौँ ।’
‘माघ १२ गते पवित्र मुन्धुमी स्थल मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको शान्तिपूर्ण विरोध प्रदर्शन गर्नका लागि बलुडाँडामा पुगेर रहेका मुक्कुम्लुङ संरक्षक नागरिकहरुमाथि सशस्त्र र जनपथ प्रहरीको ठूलो संयुक्त फौज पुगी खाना खाइरहेको अवस्थामा हठात अश्रुग्यास हानेर भागदौड भएको बेलामा ताकीताकी गोली हान्ने र गोली लागेर घाइते भएकाहरुलाई प्रहरीले हुल बाँधेर बुट र बन्दुकको कुन्दाले निर्घात कुटपिट गरी बर्बर दमन गरेको अमानवीय कार्यको निन्दा र भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
‘नेपालको संविधान ०७२ को धारा २६ तथा धारा ३२ अनुरूप समुदायको धार्मिक, सांस्कृतिक र आध्यात्मिक विषय सम्बन्धित नागरिक समुदायले संरक्षण गर्न पाउने प्रावधान अनुसार मुक्कुम्लुङ क्षेत्रको संरक्षण गरेर छाडिने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तीमा उल्लेख छ ।

173 पटक हेरिएको 














