
इलाम :प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डा संरक्षणमामा सबै तहका सरकारको दायित्व रहेको बताए । उनले सन्दकपुरमा गाउँपालिकाको कालपोखरीमा शुक्रबार तेश्रो रेडपाण्डा महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपालभरमा करिब ५ सयको संख्यामा रहेको रेडपाण्डा रहेको जानकारी गराए ।
मन्त्री पराजुलीले संसारबाटै लोप हुने जोखिममा रहेको रेडपाण्डाको संरक्षणका लागि तीनै तहका सरकारसँगै विभिन्न अभियन्ता पनि सक्रिय रूपमा लागिरहेको उनले उल्लेख समेत गरे ।
प्रदेशमा रेडपाण्डा संरक्षणलाई अझ प्रभावकारी बनाउने तथा यससँग सम्बन्धित चुनौती र भएका कामहरूको बारेमा समेत छलफल भइरहेको बताउँदै मन्त्री पराजुलीले भने ‘महोत्सवबाट आउने निष्कर्षलाई मन्त्रालयले सकारात्मक रूपमा हेर्न्छ । सहयोग गर्नेछ।’
उद्घाटन कार्यक्रममा मन्त्री पराजुली, जिसस प्रमुख जय प्रकाश राई, पर्यटन मञ्च झापाका अध्यक्ष उदय श्रेष्ठ, आसमा प्रकृति संरक्षक सौम्यदिप दत्त, सिक्किम पर्यटन विभागकी सद्भावना दूत तथा अभिनेत्री श्यामा शेर्पा, केचना–कञ्चनजंघा पर्यटन विकास समिति इलामका अध्यक्ष नरेन्द्र बुढाथोकी तथा एसिटी भारतकी उपाध्यक्ष गिताली लहरी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले गरेका थिए।
गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महोत्सव आयोजक समिति संयोजक तथा सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष सनम राईले स्वागत गरेका थिए ।
महोत्सवको उद्घाटनसँगै सन्दकपुरमा रेडपाण्डा पर्यटनको सम्भावना विषयमा प्यानल डिस्कसन भएको छ । पत्रकार सुजन तिम्सिनाले सहजिकरण गरेको उक्त छलफलमा सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरि बहादुर लुङ्गेली, चलचित्रकर्मी केवल तामाङ, केचना–कञ्चनजंघा पर्यटन विकास समितिका पूर्व कार्यकारी निर्देशक केशव द्यौराली तथा पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेल, रेडपाण्डा प्रर्वद्धक साइबा राणा, प्रकृति संरक्षक विश्वजित शाह सहभागी भए ।
होत्सवमार्फत रेडपाण्डा संरक्षण, जैविक विविधता तथा सन्दकपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको कार्यक्रममा नेपाल र भारतका पर्यटनकर्मी, संरक्षणकर्मी, पत्रकार एवम चलचित्रकर्मीहरुको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा मगर समुदायको हुर्रा, राई समुदायको साकेला र शेर्पा समुदायको झाँकी देखाइएको थियो । महोत्सव आउँदो चैत्र २३ गतेसम्म गाउँपालिका–४ स्थित कालपोखरी क्षेत्रमा हुनेछ ।

54 पटक हेरिएको 














