वार्ताको वातावरण बनाउँन ‘नो केबलकार समूह’को चार बुँदे शर्त सार्वजनिक


सेवारो खबर  178 पटक हेरिएको

इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समूह’ले सरकारसँग वार्ताको वातावरण बनाउँन चार बुँदे शर्त सार्वजनिक गरेको छ ।

मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत समूहले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

समूहले वार्ताको वातावरण बनाउँन मन्त्रीस्तरीय वार्ता समिति गठन गरी आन्दोलनरत पक्षलाई आधिकारिक रूपमा वार्तामा बोलाउनु पर्ने पहिलो शर्त बनाएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरूको निसर्त रिहाइ तथा कर्फ्यु हटाउनु पर्ने । केबलकार निर्माण कार्य स्थायी रूपमा रोक्दै निर्माणस्थलबाट सबै सामग्री, ठेकेदार तथा मजदुर फिर्ता गर्नु पर्ने र मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र तथा जनपथ प्रहरी फिर्ता गर्नु पर्ने शर्त विज्ञप्ती मार्फत अघि सारेको छ ।

विज्ञप्तीमा भनिएको छ ‘वार्ता र सम्बादको माध्यमबाट समस्या समाधान गरिनुपर्छ भन्नेमा हामी सदैब सकारात्मक र जिम्मेवारीपूर्ण ढंगबाट भूमिका निर्वाह गर्न प्रतिबद्ध छौ । तसर्थ माथिका शर्तहरु पुरा भएपछि हामी परिणाममुखी वार्तामा सामेल हुनेछौ ।’

१३ विभिन्न संस्था र ९ अन्तर दलीय संगठनका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तीमा ‘वार्ताका लागि वार्ता होइन् । अधिकार सम्पन्न वार्ता समितिसँग निष्कर्ष सहितको परिणामुखी वार्तामा बसौं’ भनेर  प्रस्ताव समेत गरिएको छ ।

यसअघि नो केबुलकार समूहको वार्ता सहजिकरण समितिले गएको माघ २२ गते सह सचिव प्रेमप्रसाद भट्टराईले नेतृत्व गरेको सरकारी वार्ता टोलीसँग विभिन्न छ बुँदे सहमति गरेको थियो ।

सहमति पुरा भएपछि थप वार्ता माघ २७ गते बस्ने भनिएकोमा सरकारले सहमति पुरा नगरी वार्ताको वातावरण नबनाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएको थियो । यसै क्रममा गएको शनिबार प्रदर्शनका क्रममा स्थानीय प्रशासनले बल प्रयोग गरी कुटपिट गर्दा ५ घाइते भएका थिए । यसै क्रममा १५ जना पक्राउ गरेर निशेधाज्ञा समेत जारी गरेको छ ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेकालाई म्याद थप गरेर ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।

विज्ञप्तीमा १३ संस्था मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति संयोजक श्री प्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ, सङ्घीय अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति संयोजक प्रेम येक्तेन, किरात राई यायोक्खा, केन्द्रीय कार्यसमिति अध्यक्ष जीवन हाताचो राई, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह संयोजक नन्द कन्दङवा, प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम,  नेपाल आदिवासी जनजाति महासङ्घ अध्यक्ष गेल्जे शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ अध्यक्ष ङिमि शेर्पा, याक्थुङ युवा मञ्च अध्यक्ष, राजेन्द्र इघिङ्गो, याक्थुङ चोः सङजुम्भो  संस्थापक सदस्य किरणकुमार सिगु, याक्थुङ मुन्चइत चोक सयङ अध्यक्ष सागर केरुङ, लिम्बू विद्यार्थी मञ्च महासचिव प्रदिप नेयोङ, सिकैचा, फावाखोला, फूरुम्बो, लिङखिम, तापेथोक स्थानीय केबलकार खारेजी संघर्ष समिति संयोजक हेम्बू इजम र ९ अन्तर्दलीय राजनीतिक पार्टी राष्ट्रिय मुक्ति पार्टी अध्यक्ष राजेन्द्र महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च –संघीय लिम्बुवान प्रान्तिय मंच अध्यक्ष कुमार लिङ्देन मिराक, पहिचानवादी मोर्चा संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावती, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिव सञ्जय राई, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष धनबहादुर पन्धाक, नेपाल जनमुक्ती पार्टी उपाध्यक्ष भक्त खेवाङ, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन‐डिजिजि  नयन्द्र चाम्लिङ, अध्यक्ष, किरात लिम्बुवान प्रदेश समिति, नेपाल कम्यूनिष्ट पार्टी अध्यक्ष गजेन्द्र पालुङवाले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ती:

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार