
ताप्लेजुङ: ताप्लेजुङको सिस्ने खोलामा बेलिब्रिज बनेसँगै फुङलिङ बजार र फक्ताङलुङ गाउँपालिकालाई सबै सिजन यातायातले जोडेको छ ।
२७ दशमलब ५ मिटर लम्बाईको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै मङ्गलवार देखि सञ्चालनमा आएको बताइएको छ ।
बेलिब्रिजले जिल्लाको फूङलिङ बजार र फक्ताङलुङ गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले बताए ।
पुल बनेपछि दैनिक उपभोग्य बस्तु आयत गर्न, नियमित एम्बुलेन्स सेवा सञ्चालन गर्न पालिकाबाट उत्पादित कृषिउपज बस्तुको निर्यात गर्न सहज भएको छ । यातायातले हिमाली पर्यटकीय क्षेत्र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, सिजेमा ताल, ओलाङचुङगोला लगायत क्षेत्रमा पुग्न समेत सहज हुने अध्यक्ष लिम्बुको दाबी छ।
माथिल्लो तमोर जलविद्युत आयोजनाले निर्माण गरेको बेलिब्रिज निर्माणका लागि चार करोड ५० लाख रुपियाँको लागतमा ४० टन भार वहन क्षमताको पुल निर्माण गरिएको जलविद्युत आयोजनाका संयोजक सम्झाना क्षेत्रीले जानकारी गराए । सिस्ने खोलामा बेलिब्रिज निर्माण भएसँगै निर्माणाधीन तमोर कोरिडोर सहित स्थानीय सडकमा यातायात सञ्चालनमा सहज भएको छ ।
पुलले तिब्बतसँगको सिमाना टिताला जोडिने तमोर कोरिडोर सडक सञ्चालनमा समेत सहज हुने अध्यक्ष लिम्बुले जानकारी दिए।
फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा तमोर इनर्जी प्रालिले २ सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न सुरु गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिस्ने खोलामा बेलिब्रिज निर्माण, फुरुम्बो खोलामाथि कल्भट निर्माण साथै तावा खोलामा समेत कल भट निर्माण गरी पालिकालाई यातायातको पहुँचसँग जोडेको छ । @radionepalonline.comबाट ।

110 पटक हेरिएको 














