झण्डै ३० प्रतिशतले घट्यो यो वर्षआत्महत्याका घटनामा


सेवारो खबर  97 पटक हेरिएको

इलाम: बिगतका तुलनामा इलाम जिल्लामा आत्महत्याका घटनामा कमी आएको छ । जिल्ला प्रहरीका अनुसार पछिल्लो एक बर्षमा आत्महत्याको घटना झण्डै ३० प्रतिशतले कमी आएको छ ।

अघिल्ला वर्षहरूमा आत्महत्या एक प्रमुख सामाजिक समस्या रहेको जिल्लमा प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोईरालाका अनुसार सचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय परामर्श सेवा कार्यक्रमले घटनामा कमी आएको हो ।

जिल्लाका विभिन्न स्थानमा समुदायसँगको सहकार्य र मानसिक स्वास्थ्य सम्बन्धी संवादले आत्महत्या न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको प्रहरी उपरीक्षक कोइरालको भनाई छ ।

“मानसिक तनाव, पारिवारिक विवाद, बेरोजगारी तथा असफल प्रेम सम्बन्धले युवाहरूमा आत्महत्याको प्रवृत्ति बढेको थियो” प्रहरी उपरीक्षक कोईरालाले भने, “तर, गत वर्षदेखि सञ्चालन गरेका सचेतनामूलक अभियानपछि यस्तो प्रवृत्तिमा उल्लेखनीय सुधार देखिएको छ ।”

एसपी कोईरालाले स्थानीय तह, स्वास्थ्य कार्यालय, शिक्षक, समाजसेवी तथा युवासँगको समन्वयमा मानसिक स्वास्थ्यबारे खुला बहसको वातावरण सिर्जना गरिएको उल्लेख गर्दै भने, “समस्या देखिनासाथ प्रहरीसँग सहज सम्पर्क गर्न सकिने वातावारण बनाउँदैछौँ, जसबाट धेरैको ज्यान जोगिएको छ ।”

जिल्ला प्रहरी कार्यालयले स्थानीय संघसंस्थाको सहकार्यमा जिल्लाको विभिन्न विद्यालय, क्याम्पस, टोल तथा वस्तीस्तरमा आत्महत्या न्यूनीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यालयले आत्महत्या गर्न खोज्ने व्यक्तिहरूको पहिचान गरी समयमै मनोपरामर्श तथा सहयोग पुर्‍याउने प्रयासलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको जनाएइको छ ।

आगामी दिनमा आत्महत्या न्यूनीकरण अभियानलाई अझ प्रभावकारी बनाउने योजना अन्तर्गत प्रहरी कार्यालयले मनोपरामर्श कक्ष स्थापनादेखि टोलस्तरीय संवाद कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको बताइएको छ ।@surakshyasarokar बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार