
इलाम: हरेक वर्ष आउँछ र जान्छ साउन २२ । अर्थात आजकै दिन आउँछ र जान्छ । कसैलाई वास्ता छैन । कोही भने कालो दिन भन्छन् । र आम हड्ताल गर्छन् ।
२०६६ सालदेखि राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदले सधैंलाई कालो दिन भन्दै बन्दको आव्हान गरेको छ । यस पटक लिम्बूवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष हेल्लोक, सङ्घीय लिम्बूवान पार्टीका अध्यक्ष मित्र लिङ्देन र लिम्बूवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल पालुङ्वा याक्थुङले विज्ञप्ति जारी गर्दै आम हडतालको घोषणा गरेका छन् ।
उनिहरुले विक्रम सम्वत १८३१ साल साउन २२ गते गोर्खा राज्य र लिम्बूवानबिच भएको ‘तसली लालमोहर’ (नुनपानी सन्धि) को ऐतिहासिक दिनको सम्झनामा र सन्धिको कार्यान्वयनका लागि दबाब दिन हडताल घोषणा गरेको बताउँदै आएका छन् ।
हडतालको घोषणा गर्दै ऐतिहासिक अरुण पूर्वका ९ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङलाई समेटेर लिम्बूवान राज्य सुनिश्चित गर्नुपर्ने माग पुनः दोहोर्याइएका छन् ।
बन्दको जीवन्त इतिहास मात्रै । छिटफुट कतै प्रभाव पर्छ त कतै पर्दैन । बन्द बाहेक अन्य औपचारिक कार्यक्रम हुँने जानकारी गराएका छैनन् ।
साउन २२ लिम्बुवानको कालो दिन भन्दै पत्रकार भवानी बराल भन्छन् ‘स्वतन्त्र र सार्वभौम राज्य लिम्बुवानलाई नेपाल अन्तरगत सह–राज्यको रुपमा ल्याइएकोले पनि यो मिति महत्वपूर्ण छ । यहि मितिदेखि आजसम्म पनि यो राजनीतिक तिथिले संकेत गरेको हिसाब मिलान गर्न बाँकी रहेकाले यो राजनीतिक मुद्दा किनारा लागेको छैन ।’
राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदले साउन २२ गतेलाई पहिलो पल्ट ‘कालो दिन’ भनेर घोषणा गरेको थियो । त्यही कालो दिन मनाउने क्रममा उसले अरुणपूर्वका ९ जिल्ला बन्द गर्यो । त्यस यता जनमुक्ति पार्टिसँग अन्य लिम्बुवान जन्य पार्टीले समेत बन्दको समर्थन गर्न थालेको हो । तर यसको प्रभाव भने त्यति देखिदैन । किन भने वर्तमानमा लिम्बुवान तथा पहिचान पक्षधरको राजनीतिक शक्ति खण्डिकृत बन्दै गएको जानकारहरुको भनाई छ ।
राष्ट्रिय राजनीतिको छायाले लिम्बुवान र पहिचानको राजनीति सधैं ओझेलमा पर्दै आयो । सामाजिक र आर्थिक हिसाबले दुर्वल यो शक्ति कहिल्यै संगठित र एकिकृत हुन नसकेको यसका पक्षधर नतृत्वले स्वीकार गर्न थालेका छन् । यसको पक्षमा वकालत गर्दै आएको सामाजिक तथा सामुदायिक संघसंस्थाको आवाजलाई समेत राष्ट्रिय राजनीतिकले पचाउँन थालेको बताउँछन् ।
लालमोहरमा के छ ?
स्वस्ति श्री गिरीराज चंक्रचुडामुनि नर नरयेनी त्यादि विविध विरुदावली विराजमान मंमत्त श्री मंमाहाराजधिराज श्री श्री श्री माहाराज्ये पृथ्वीणारायेनी साहा बाहादुर श्यामसेरजंङ्ग देवानाम समर विजयेनाम । स्वास्ति श्री आगे राजभोरको सामर्थ श्री श्री सुंन राई, श्री कुंम राई, श्री जंङ राई अरु सबै गैह्रा लिम्वु राईके पूर्ण मोहरका पत्रम येथोचित उप्रान्त मिल मिलंमतंम ञाहाको लागि ताहालाई कुल चाहियो मेरो धर्म मंन भलो छ तिमीहरु हिजु पनि पिछा बक्स्येका हौं ।
तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुंतु तुंम्याहां यांहां संन्तान हयौ। त्यो मुलुक हाम्रो भया तापनि तिमीहरु हाम्रै छौ। तिंम्रा जहाणको पिछा हामीले लिञ्यूं जजस्को ज्येज्ये तंम्रा खैन पैन र लुंबांगढ सिंबांगढ असुधलाई सब खतवात सभासुध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामी बक्सौ। तिमीहरु हांम्रा भारदारसंग सामेल रहौ र मद्दत सघाइ हिजु आपै आप आपुंगी बसी आये बमोजिम त्यो मुलुक संभार गरी जिमी भूमि रहंज्याल तिंम्रा शाखा संन्तांनतंक्क भोग गर अरु नौलाख र येकपटि हौना क्ये अर्थले भने अरु राजा मासिने हुदा तिमीहरु राजा नै भन्ये नमासिने हौ यो तिमीहरुको नीति हामीले जानेको छ तर कुराको विस्तार तिंम्रा नाभीमा बसेकोले तिंनले गर्यो सुख्मिंको र हाम्रो घर नभयाको हो हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयेको छ ।
उनैबाट कुराको विस्तार बुझाउला मिली तिमीहरुको आपै आप आपुंगी खैन पैन माथि लेखेबमोजिम जिमीं भूमि जानी चलंन गरी खानु हामीले खोसी मांस्ये मानी पूजी ल्यायेको देवताले हाम्रो राजकाज भंङ नासोस् भन्या ताम्व्रा पत्र वाचाको तसलि मुलुकि लालमोहर वाधी माथि लेखिन्ये लिम्वु कुल भाइलाई दिञ्यूं इति सम्वत १८३१ साल मिति श्रावण सुदि २२ रोज २ वार मुकांम कान्तिपुर राजधनी सुभये स्वम ।
लालमोहरको सार: ‘हिजो आफैआफ आपुंगी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमीभूमि रहिञ्ज्याल तिम्रा शाखा सन्तानले भोग्ये गर । हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भंग गरोस्, ताँबापत्रको तसल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिने कुल भाइलाई दियौं । इति सम्बत् १८३१ साल मिति सुदी २२ रोज २ वार मोकाम कान्तिपुर राजधानी सुभाय शुभम् ।’
वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन भए । यिनै क्षेत्रहरूलाई यो भन्दा पहिले लिम्बुवान भनिन्थ्यो ।
वि.सं. २०२१ सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू भयो । सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व समाप्त भयो । यसरी लिम्वुवान र गोर्खाको दुई पक्ष बीच भएको वि.सं. १८३१ साउन २२ मा भएको लालमोहर सन्धी वि.सं. २०२१ मा एकतर्फी टुटेकोमा लिम्वुवान नेताहरुले साउन २२ लाई कालो दिनको संज्ञा दिन थालेको किरात याक्थुङ चुम्लुङका सल्लाहकार प्राध्यापक मोहनसिहं थेबे बताउँछन् ।

222 पटक हेरिएको 











