
काठमाडौं: सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् ।
मन्त्री गुरुङले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवस मंगलबार काठमाण्डौमा उद्घाटन गर्दै पत्रकारले सत्यको उजागर गर्दै समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानुनी राज्यमा कसैको आवाज दबाउन नमिल्ने बताए । उनले पत्रकारहरु मुलुकको आवाज भएको बताउँदै पत्रकारलाई अंकुश लगाउन नहुने धारणा राखे ।
पूर्वमन्त्री हितबहादुर तामाङले पत्रकारलाई बोल्न र लेख्ने अधिकार सधैं सुनिश्चित हुनुपर्नेमा जोड दिए । पूर्वमन्त्री तामाङले आदिबासीले आफ्नो भूमि सुरक्षा गर्न नसकिरहेका बेला पत्रकारले त्यसमा सचेतनाको काम गर्न सुझाव दिए ।
पूर्वमन्त्री तथा एमाले नेत्री भगवती चौधरीले पत्रकारले सत्यतथ्यलाई ध्यान दिएर कलम चलाउनु पर्ने बताउँदै मुलुक र जनतालाई बाटो देखाउने जिम्मेवारी पत्रकारले गरिरहेको उहाँले चर्चा गरिन् ।
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद कान्छाराम तामाङले बागमती प्रदेशमा करिब ३५ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले सोहीअनुसार अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङले राज्यमा समावेशीता ल्याउनुपर्छ भन्ने उद्देश्यका साथ फोनिज स्थापना भएको जानकारी गराए ।
नेपाल आदिवासी जनजाति महासङ्का अध्यक्ष गेल्जे लामा शेर्पाले पत्रकारले अध्ययन, अनुसन्धान गरेर मात्र समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको संस्थापक अध्यक्षको विषयमा छलफल अघि बढिरहेको भन्दै यसप्रति आफूहरु सकारात्मक रहेको बताइन् । यस विषयमा फोनिजले झक्झकाइरहेको उल्लेख गर्नुहुँदै पत्रकार महासङ्घ पनि यस विषयमा सचेत रहेको भनाइ राखिन् ।
फोनिजका संघीय अध्यक्ष लक्की चौधरीको सभापतित्वमा भएको कार्यक्रममा फोनिजका सल्लाहकार डण्ड गुरुङ, निवर्तमान अध्यक्ष गजुरधन राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष निमी शेर्पा, नेपाल प्रेस युनियनका सचिव लाल मोक्तान, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, प्रेस सेन्टरका महासचिव मनोज घर्ती मगर, फोनिजकी वरिष्ठ उपाध्यक्ष सरु राना मगर, एआइपीपीका प्रतिनिधि जगत बराम, डिजिएम संस्थाकी साधना लिम्बू, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायतले धारणा राखे । @gorkhapatraonline.comबाट ।

152 पटक हेरिएको 











