किरात सिरिजंगा लिपी लिम्बू भाषा माङ्सेबुङ गाउँपालकाले सरकारी भाषा बनाउँदै


सेवारो खबर  363 पटक हेरिएको

 इलाम: किरात सिरिजंगा लिपी लिम्बू भाषालाई माङसेबुङ गाउँपालिकाले सरकारी कामकाजको भाषा बनाउँने तयारी गरेको छ ।

माङसेबुङमा बहुसङ्ख्यक जनसंख्याले बोल्ने किरात सिरिजङ्गा लिपिमा लेखिने लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनका गर्न एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्तको तयारी थालिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी गराए ।

आउँदो भदौ ४ गते बुधबार छनोट परीक्षा सञ्चालन गरी नियुक्ति गरिने गाउँपालिकाले जनाएको छ  । भाषिक सहजकर्ताका बन्न छ जनाले आवेदन दिएका छन् ।

गाउँपालिकाले ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५’ र ‘माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४’ अनुसार भाषिक सहजकर्ता नियुक्त गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए ।

‘कर्मचारी नियुक्ति भएपछि गाउँपालिकाभित्र औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताउँदै भने ‘बाहुल्य लिम्बू समुदायको सम्मानका लागि नेपालमै पहिलोपटक माङसेबुङमा लिम्बू भाषा कामकाजी प्रयोगमा ल्याउन लागिएको हो ।’

गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापनमा नै समावेश गरी भाषिक सहजकर्ता नियुक्त गर्न लागिएकोले भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।

भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं वडा कार्यालयमा लिम्बू भाषालाई कामकाजी घोषणा गरी लागू गरिसकिएको छ । वडामा २०७६ मा एक जना भाषिक सहजकर्ता (सहायक चौथो तह) राखेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव छ प्रतिशत राई समुदाय बसोबास गर्छन् ।

प्रदेश सरकारले समेत लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बताइन्छ । @radionepalonline.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार