
इलाम: इलामको सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व:मूल्याङ्कन (एल,आइ,एस,ए (लिजा)मा प्रदेशकै उत्कृष्ट भएको छ ।
कोशी प्रदेशको एक सय ३६ पालिलकालाई पछि पार्दै पहिलो भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परीक्षण पश्चात निकालेको अन्तित नतिजामा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ को नतिजाको गुणस्तर परीक्षण गर्दा ९०.५० अंक प्राप्त गर्दै सूर्योदय नगरपालिका प्रदेश प्रथम भएको नगर प्रमुख रणबहादुर राईले फेसबुकमा जानकारी गराएका छन् । उनका अनुसार नगरपालिलकाले लिजामा देशै भरिको नतिजालाई आधार मान्ने हो भने छैटौ स्थान हासिल गरेको छ ।
इलाम नगरपालिकाले यस बर्ष ९०.०० अंक प्राप्त गर्दै जिल्ला दोस्रो भएको छ । सन्दकपुर गाउँपालिकाले तेस्रो स्थान हात परेको छ । सन्दकपुरले ७९.५० अंग प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको हो । सन्दकपुरले इलामका ६ गाउँपालिकालाई पछि पार्दै प्रथम स्थान हासिल गरेको देखिन्छ ।
जिल्लाको फाकफोकथुम गाउँपालिकाले लिजामा चौथो स्थान सुरक्षित गरेको छ । चौथो स्थानका लागि फाकफोकले ७८.२५ अंक प्राप्त गरेको छ । रोङ गाउँपालिका ७८ अंक प्राप्त गर्दै पाँचौं भएको छ ।
देउमाई नगरपालिकाले ७७ अंक पाउँदै जिल्लाको छैटौ पालिका भएको छ । यस्तै माङसेबुङ गाउँपालिकाले ७४ अंक, माई नगरपालिकाले ६६.५० अंक र माई जोगमाईले ६१.७५ अंक प्राप्त गर्दै अन्तिम स्थान सुरक्षित गरेको छ ।
स्थानीय तहबाट तोकिएको समयमा सम्पादन भएका कार्यहरूको समग्र विश्लेषण गर्दै स्थानीय तहहरूको सबल पक्ष तथा सुधारात्मक पक्षहरूको पहिचान गर्दै सेवा प्रवाहको समग्र अवस्थामा सुधार ल्याउनका विभिन्न सूचकहरूको माध्यमबाट विश्लेषण गरी स्थानीय तह संस्थागत क्षमता स्व:मूल्याङ्कन (एल,आइ,एस,ए (लिजा)को अंक निर्धारण गरिने मन्त्रालयले जनाएको छ ।
स्थानीय तहहरूको सुधारात्मक पक्षहरूको पहिचान गर्दै समग्र सेवा प्रवाह प्रक्रियालाई जवाफदेही, पारदर्शी, उत्तरदायी बनाउँदै सुशासनलाई अनुभूति गराउन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार मूल्यांकन गर्दै आएको छ ।
लिजामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा छुट्टाछुट्टै अंकसहित मूल्यांकन गरिन्छ ।
प्रत्येक विषयगत क्षेत्रका लागि निश्चित अंकभार तोकिएको छ । सेवा प्रवाह क्षेत्रलाई सबैभन्दा बढी १६ अंक, सहकार्य तथा समन्वय क्षेत्रलाई सबैभन्दा कम ६ अंक राखिएको छ ।
स्वमूल्यांकन प्रक्रियाका लागि निर्वाचित जनप्रतिनिधि, शाखा प्रमुख तथा सम्बन्धित अन्य कर्मचारीहरू समेतको रोहबरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिन्छ । समग्र कार्य सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतले एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्ने व्यवस्था गरिएको छ । सम्पर्क व्यक्तिले तोकिए अनुसारको विषयगत क्षेत्रका सूचकहरू अनुसार तोकिएको अनलाइन सफ्टवेयरमा प्रमाणसहितका कागजपत्रहरू अपलोड गरेर त्यसको विश्लेषणका आधारमा नतिजा प्राप्त हुने गरेको बताइन्छ ।
समग्र नतिजा


197 पटक हेरिएको 














