
इलाम: अहिले, देउमाई ९ सरदार गाउँको धान फल्ने खेतहरुकै अर्को नाम हो ‘आमलेडाँडा’ । अधिकांश गाउँलेको मानो रोपेर बर्षभरी श्वास जोड्न, मुरी फलाउँने ठाउँ ।
डाँडसँगै जोडिएको ‘आमलेगाउँ’, देउमाई नगरपालिका ९ (साविक जीतपुर ३) सरदार गाउँको बेसीँगाउँको नाम हो । बर्षौदेखि सिजनमा थप अस्थायी गोठहरुले खेतबारीमा जीउने आशा थपिरहन्छ ‘आमलेगाउँ’ । जहाँ दु:खले बत्ति र खानेपानी पुगेको छ ।
गाउँलेका दिन दैनिकी नुनतेल, कपडा र अन्य दैनिक उपभोग्य सामग्रीको जोहो गर्न बर्खाको सिजनमा करिब डेढ घण्टा पैदल यात्रा गरेर नवमी बजार पुग्नु पर्छ । त्यहीँ छ, वडा कार्यालय र सामान्य टाउको दुख्दा खाने, सिटामोल दिने स्वाथ्य चौकी र माध्यमिक विद्यालय ।
गाउँमा उत्पादन भएको कृषिजन्य फसल गाउँले बजारसम्म पुर्याउँन बोकेर लानुको विकल्प हुँदैन । बर्षौदेखि बर्खायाममा यहीँ पीडामा बाँचिरहेको छ ‘आमले गाउँ’ । हातको सामान्य घाउँ चेकजाँच गर्न स्वाथ्य चौकीमा हिडेर आइपुगेका नरेन्द्र सम्वबाहाम्फेले भने ‘गाउँपुग्ने नाम मात्रको बाटो छ । भारी बोक्ने ट्याक्टरसम्म चल्दैन । बर्खाको पानीले कयौं ठाउँमा बाटो बिगारेको छ । सरकारले देखेकै छैन गाउँको समस्या । खोई कसलाई गुहार्ने र हामीले ।’
वडा कार्यालयदेखि करिब ७ किलोमिटर हिलाम्मे बाटोको बर्षौदेखिको समस्या समाधान गर्न गाउँले आफै जुट्छन् । यसपटक भने बर्खामा समेत सवारीसाधन सञ्चालन गर्न झरी नसकिदै बाटो मर्मतमा जुटे । बिगतमा भने दशैं छेकमा मात्र बाटो मर्मत तथा सरसफाइमा जुट्ने स्थानीयले झरी नसकिदै कम्तिमा ट्यक्टर, मोटरसाइकल चल्ने बाटो बनाएको स्थानीय पना मोरोहाङले जानकारी गराए ।
स्थानीयले हिउँदमा १५ मिनटको यात्रा बर्खामा डेढ घण्टा समय खर्चदै आएका छन् । बर्खाभरी बाटोमा सवारी साधन चल्दैनन । सरदार गाउँवासी गाउँसम्म आएको बाटोलाई बर्खाको पानीले बाटो थप बिगारेमा गाउँले आफैले नाली काट्ने, खाल्डा खुल्डी पुरिदिने, स्थानीय आफैले गर्ने गरेकोले नै बाटो विगतका वर्षभन्दा पछिल्लो वर्षमा सहज हुन थालेको स्थानीय छत्र नेम्बाङले बताए ।
‘बाटो मर्मतपछि घरबेसीं गर्न केही सहज भएको छ । आवश्यक पर्दा पिकअफ, ट्याक्सी, ट्यक्टर तथा मोटरसाइकल चढेर घरदेखि बजार पुग्न सहज भएको छ । नाम्लोले भारी बोक्न परेको छैन । बाटो मर्मतमा जुटेका नेत्र मोरोहाङले भने कम्तिमा पनि आमले गाउँलाई बर्खमा सहज भएको छ तर दिगो बनाउँन सकिएको छैन । बाटो हाम्रै हो कसलाई गुहार्नु । सरकारले बनाई दिदैन, हाम्रो बाटो हामीले नै बनाउँने हो ।’
बाटो मर्मतमा एकमत हुने गाउँले भन्छन् ‘गाउँजाने बाटो हामीलाई कालोपत्रे चाहिएको होइन । कम्तिमा बाह्रैमास गाडी चढ्न पाइयोस् । बिरामीका लागि एम्बुलेन्स पुग्ने बाटो बनोस । कृषिजन्य उत्पादन सबै सिजन खेतबारीबाटै बजारसम्म पुर्याउँन सकियोस । खेतमा फलेको फल गाडिबाटै घरमा ल्याएर थन्क्याउन पाइयोस ।’
बाटो गाउँसम्म आइपुगेको १८ बर्ष भयो । गाउँले मिलेरै बाटोको ट्रयाक खोलेका हुन । सरकारले बाटो बनाइदिएको होइन । जब गाउँमा गोलियाको बिक्री शुरु भयो । व्यापारीले गोलियका निकाल्न बाटोलाई गुणस्तरीय बनाउँदै लगे । सरकारले चासै दिएन बाटो यसरी नै बन्यो गाउँमा स्थानीय हर्क नेम्बाङ भन्छन् ‘ ट्रयाक बनेपछि केही सरकारी बजेट पनि खर्च भएको छ । तर सरकारको भन्दा पनि स्थानीयले धेरै लगानी गरेका छन् । गाउँलेले कम्तिमा पाँच सयदेखि बीस हजारसम्म बाटो खन्न खर्च गरेका छन् ।’
सरदार गाउँमा सय बढी घरधुरी बसोबास गर्छन् । प्राय सबैको घरघरमा बाटो पुगेको छ । बाटो सरकारले खनि दिएको होइन धेरै जसो पारिवारिक लगानीमा बाटो बनेको हुन । गाउँमा व्यवसायी समेत थपिदै गए अहिले गाउँमा यात्रुबाहक ट्याक्सी. ट्यक्टर, अटो रिक्सा, मोटरसाइकल थपिदै छन् ।

371 पटक हेरिएको 











