
इलाम: किरात याक्थुङ चुम्लुङ स्थापना भएको ३७ वर्ष भयो । यसलाई सम्पूर्ण लिम्बुहरुको साझा प्रतिनीधिमुलक सामुदायिक संस्था हो ।
‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित ३७ औ स्थापना दिवसको अवसरमा विश्वभरी विभिन्न कार्यक्रम भए । २ प्रदेश १५ जिल्ला र २० विदेश शाखाले विश्वभरी स्थापना दिवस मनाएको समाचार छ ।
प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग गर्दै मुक्कुमलुङ धार्मिक क्षेत्र अतिक्रमको विरोधको नाममा चुम्लुङको वडा, पालिका, जिल्ला, प्रदेश, संघ र अन्तराष्ट्रिय रुपमा विदेश शाखा समेतले स्थापना दिवस मनाएको चुम्लुङले जनाएको छ ।
स्थापना दिवसका अवसरमा शुभाकामना आदान प्रदान नेपालका विभिन्न जिल्ला शाखाहरुले आधारभूत तथा माध्यमिक विद्यालयमा अध्ययनरत लिम्बू विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेका छन् । यसका साथै याक्थुङ लिम्बू जातिहरुको अस्तित्व पहिचानसँगै समग्र विकासको सवालमा बहस, पैरवी, छलफल, अन्तरकृयाका कार्यक्रम भएको बताइएको छ ।
चुम्लुङले सम्पूर्ण लिम्बुहरुलाई संगठित गरी उनिहरुको हक अधिकारको सुनिश्चितता, भाषा, लिपि, कला, संस्कृति, मुन्धुम र इतिहासको निरन्तर संरक्षणको काम गर्दै आएको किरात याक्थुङ चुम्लुङका संघिय अध्यक्ष प्रेम येक्तेनले जानकारी गराए ।
२०४६ भदौ १७ गते स्थापना भएको किरात याक्थुङ चुम्लुङसँग अहिलेसम्मा १८ वटा विभिन्न कोष स्थापना गरेको छ । चुम्लुङले कोषको आम्दानीबाट याक्थुङ भाषा, लिपि, साहित्यमा योगदान पुर्याउँनेलाई सम्मान तथा पुरस्कार दिदै आएको छ ।
कोषले याक्थुङ समुदायको विकासका साथै यस क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई वर्षेनी सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । युवा पस्तालाई सरकारी सेवा प्रवेशका लागि लोकसेवा तयारी कक्षा समेत बेलाबेलामा सञ्चालन गर्दै आएको छ ।
‘अहिलेसम्ममा चुम्लुङको नाममा घरजग्गा जोड्दै २५ बढी चुम्लुङ हिमको समेत निर्माण गरी सकेको छ । सामुदायिक विद्यालयको कक्षा ९ सम्मको पाठ्यक्रम निर्माण गरी पठनपाठन गराउँनमा सहयोग गरेको छ । याक्थुङ लिम्बू भाषाको पोष्ट ग्र्याजुएट पठनपाठनको पहल समेत गरिरहेको छ । धार्मिक सांस्कृतिक राजनीति सचेतना ल्याउँने अभियान सञ्चाल गर्दै आएको छ’, चुम्लुङ संघीय महासचिव निरन्ती तुम्बापोले बताइन् ।
चुम्लुङ अहिले प्रदेशको नाम कोशीको विरोधमा निरन्तर आन्दोलनमा छ । १ नम्बर प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान किरात राख्न माग गर्दै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भित्रको सरकारसँग याक्थुङ पहिचान र अस्तित्वका लागि निरन्तर लडिरहनु चुनौतीको विषय बनेको छ ।
७ वर्षदेखि मुक्कुमलुङ र भूमिको संरक्षणका लागि संघर्ष गरिरहेको छ । राजनीतक दलहरुले पहिचान र अस्तित्वको नाममा गलत भाष्य निर्माण गरेर संस्थागत विकासमा चुनौती थपेको छ । समाजमा गलत विचारलाई स्थापित गरेर चुम्लुङको संस्थागत विकास र चुम्लुङले उठाएको साझा अजेण्डामा निरन्तर अवरोधको सिर्जना समेत भएका छन् ।

336 पटक हेरिएको 














