
इलाम: जिल्ला प्रशासन कार्यालय इलामले जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
जेन्जी समूहले भदौ २४ मा गरेको आन्दोलनका क्रममा जिल्लाका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधनलगायतमा क्षति भएको विवरणमा उल्लेख छ ।
आन्दोलनका क्रममा प्रशासन कार्यालयमा तोडफोड हुँदा आंशिक क्षति भएको छ । चोकबजारको प्रहरी पोस्टमा तोडफोड र कागजपत्र आगजनी गरिएको छ । बिब्ल्याँटे बजारस्थित प्रहरी पोस्ट तोडफोड र आगजनी गरिएको छ ।
इलाम नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गर्दा करिब पाँच करोड रुपैयाँको क्षति अनुमान गरिएको नगरले जनाएको छ । नगरपालिका कार्यालयका सवारी साधन भवन, झ्याल, ढोका, फर्निचर, कागजात, ल्यापटप, दराजलगायत क्षति भएको प्रारम्भिक विवरण रहेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले जानकारी गराए ।
दुई वर्षअघिमात्र निर्माण गरिएको भवनको झ्यालका सिसा फुटाइएका छन् । ‘भवनभित्रका कतिपय कागजात सुरक्षित छन् तर धेरैजसो जलेर नष्ट भएको पाइयो,’ खड्काले भने, ‘कार्यालय सञ्चालन गर्न प्रारम्भिक अवस्थाबाटै थाल्नुपर्ने भएको छ ।’ नगरको कार्यालय भवनमा भने आंशिक क्षति भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल–ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटरलगायतमा तोडफोड गरी क्षति भएको छ । प्रहरीले करिब तीन करोड रुपैयाँको क्षति अनुमान गरिएको कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए ।
प्रशासन कार्यालयका अनुसार करदाता सेवा कार्यालयमा समेत क्षति भएको छ भने कार्यालयका सबैजसो कागजात बाहिर निकालेर डढाइएको छ । कार्यालयको एउटा गाडी तोडफोड गरिएको छ । माई नगरपालिकाका चार मोटरसाइकल र एउटा गाडी तोडफोड गरिएको छ । कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको छ । माईकै वडा १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडा कार्यालयका कागजात र सामाग्री बाहिर निकालेर जलाइएको छ । माईकै सुखानी अध्ययन केन्द्रमा तोडफोड र आगजनी गरिएको छ । माई ४ को दानाबारी सामुदायिक सिकाइ केन्द्रमा आगजनी हुँदा करिब १३ लाख रुपैयाँबराबरको सामग्री जलेर नष्ट भएको केन्द्रको अनुमान छ ।
इलाम ७ स्थित नेपाली सेनाको अतिथिगृह तोडफोड गरिएको छ । इलाम बजारमा रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टी कार्यालयमा तोडफोड गरिएको छ । कागजात निकालेर जलाइएको छ । रोङ गाउँपालिका २ को वडा कार्यालयमा तोडफोड र कागजपत्रमा आगजनी गरिएको छ ।
माओवादी कार्यालयसँगै रहेको सहिद स्मृति प्रतिष्ठान, प्रतिष्ठानसँगै रहेको पुस्तकालय र एमाले कार्यालयसँगै रहेको सूर्यरत्न बचत तथा ऋण सहकारी संस्थामा समेत क्षति भएको छ । इलाम बजारस्थित रेडियो नेपालवाणी एफएमको कार्यालयमा क्षति पुगेको छ । माई नगरपालिका २ को एमाले कार्यालयमा क्षति भएको छ । इलामस्थित नेपाल बार एसोसिएसन भवनमा पनि तोडफोडबाट आंशिक क्षति भएको बारले जनाएको छ । एक म्यानपावर कम्पनीको कार्यालयमा तोडफोड गरिनुका साथै कागजपत्र जलाइएको छ ।
सिडिओ सुनिता नेपालले क्षतिको विवरण संकलन भइरहेकाले सबै तथ्यांक आउन बाँकी रहेको बताइन् । ‘सबैतिरको विवरण अझै आइसकेको छैन,’ उनले भनिन्, ‘संकलनको काम भइरहेको छ ।’
जेनजेड इलाम लेखी जारी गरिएको विज्ञप्तिमा आफूहरूले शान्तिपूर्ण आन्दोलन घोषणा गरेपनि तोडफोड र आगजनीमा परिणत भएको भन्दै विध्वंश मच्चाउनेको छानबिन गरी कारबाही गर्न माग गरिएको छ । @पालिका पेज बाट ।
जिल्ला प्रशासन कार्यालयको प्रतिवेदन जस्ताको तस्तै :



122 पटक हेरिएको 











