‘चासोक तङनाम’ लगायत किरात राष्ट्रिय पर्वमा ३दिन राष्ट्रिय विदा दिनुपर्ने चुम्लुङको माग


याम माबोहाङ लिम्बू  398 पटक हेरिएको

इलाम: किरात याक्थुङ लिम्बुहरुको चासोक तङ्नाम शुरु भएको छ । तङ्नामको अवसरमा लिम्बूजन्य संघ संस्थाले बिभिन्न कार्यक्रम गर्दै मनाउँन थालेका छन् ।

तङ्नामको अवसरमा सामुदायिक, सांस्कृतिक, सवालमा बहस, छलफल, अन्तरकृया, भेषभूषा, संस्कार संस्कृतिको संरक्षण विकास र प्रवर्दधनका बिभिन्न कार्यक्रम भइरहेको किरातजन्य संघ संस्थाले जनाएका छन् ।

किरात याक्थुङ चुम्लुङले खाश गरी आआफ्नै घरमा पुजाआजा, दोस्रो दिन सामुहिक तङ्सिङ अनुष्ठान गर्ने र तेस्रो दिन सांस्कृतिक रुपमा समापन गर्ने गरी तङ्नाम मनाउँदै आएको छ ।

याक्थुङबाहरुको चासोक तङनाम वा याक्खाको चासुवा, सुनुवारको फोल्ष्यादर, राईको साकेला र थामीको भूमे पुजा सबै किरातहरुको राष्ट्रिय पर्व भएकोले किरात याक्थुङ चुम्लुङले यस अवसरमा कम्तिमा ३ दिन राष्ट्रिय विदाका माग गरेको छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली पर्व मनाउँने चलन छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी‘तागेरा निङ्वा भूमाङलाई’ चढाएर पूजाअर्चना गरी खाने चलन मान्दै आएको छ ।

राजधानी काठमाडौँसहित पूर्वी नेपालको सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर, झापा, ताप्लेजुङ, लगायत विश्वभर बसोबास गर्ने याक्थुङ लिम्बूले विभिन्न कार्यक्रम गरी चासोक मनाउने गर्दछन् ।

नो कोशी र मुक्कुमलुङ आन्दोलन निरन्तर जारी

चासोक तङनामसँग नो कोशी र मुक्कुमलुङ आन्दोलनको निरन्तर जारी रहेको किरात याक्थुड्ड चुम्लुङले बताइएको छ ।

चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले जारी गरेको शुभकामना सन्देशमा ‘तङ्नामसँगै ऐतिहासिक लिम्बुवान भूमिको इतिहास मेट्ने दुस्प्रयास गर्दै २०७९ फागुन १७ गते एमाले कांग्रेस माओवादी र राप्रपाका प्रदेश सांसदहरुले आफ्नो दलको नेताको मात्र इच्छाको प्रतिनीधित्व गर्दै आम लिम्बुवानवासी जनताको आवाजलाई जबरजस्ती लात मार्दै प्रदेश १ को नाम जातिवादी गोत्रीय कोशी लादिएको गलत कार्यको विरोधमा चलेको नो कोशी आन्दोलन जारी छ । यो गोत्रीय नाम खारेज गरी लिम्बुवान किरात सहितको ऐतिहासिक पहिचान युक्त नाम नहुन्जेल यो आन्दोलन जारी रहने छ’, उल्लेख छ ।

शुभकामना सन्देशमा मुन्धुमी सांस्कृतिक सम्पदा मुक्कुमलुङ संरक्षणको अभिभारा हामी आम याक्थुङ अनि कियाचुले बढाइने रहेको छ । मुक्कुमलुङ कथित विकासको नाममा केही भूमाफिया र पूँजिवादी नाफाखोरहरुको केबलकार परियोजना पूर्ण रुपमा खारेजीका लागि जारी हाम्रो आन्दोलन निरन्तर छ । लिम्बु भित्रका केही निहित स्वार्थका लागि अस्तित्व बिक्री गरेरै भएपनि कमाउन चाहने लालची बंशगद्दारहरु र गैर याक्थुङ अतिक्रमणकारीहरुलाई परास्त गरेरै छाड्न र अस्तित्व पहिचान र माङ्गेन्ना रक्षार्थ अग्र मोर्चामा याक्थुङ समदाय र कियाचु निर्भिक रुपमा लडिरहने बताइएको छ ।

चासोक तङनाम 

किरात याक्थुङबाको महान चाड हो ‘चासोक तङ्नाम’ । चासोकको अर्थ उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो । तङ्नाम भनेको पर्व हो । चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली पर्वले पनि परिचित छ । खाश गरी पाकेका बालीनाली भित्र्याउने समयमा यो पर्व मनाउँने गरिन्छ ।

यतबेला माथिल्लो पहाडी क्षेत्रको बारीमा पैयुँ फुलेको छ । पैयुँ फुलेको समयलाई लिम्बूहरूले उधौली याम [दक्षिणायन] सुरु भएको सङ्केतको रूपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरेको मान्यता छ ।

यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँद भरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छ । जसलाई यक्वा पूजा [उभौली पूजा] भन्ने गरिन्छ ।

यसरी पृथिबीमा जब जाडो याम शुरु हुन्छ । समयसँग अनुकुलित हुन किरात समुदायका अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने गर्दछन् । यो समय पाकेको अन्नबाली भित्र्याउँने खुशियालीको समय हो ।

किरात याक्थुङ लिम्बू जातिको मुन्धुम अनुसार कृषि युग सुरु हुनु अघि आदिम पुर्खा सावा येत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे । जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान् तागेरानिङवाभु माङसँग प्रार्थना गरे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना/माङदःक [कोदो], परामा [कोदोसँग उम्रने फल्ने], ताक्मारु [घैया धान], तुम्री [जुनेलो] लगायतको बीउ बिजन तागेरानिवाभु माङले उपलब्ध गराए । बीउ बिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउ बिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु [देवीदेवता]लाई चढाउने प्रचलन बसाले, यसैलाई चासोक [न्वागी] पूजा भनियो ।

मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भन्ने याक्थुङ लिम्बू जातिको मान्यता छ । यसरी माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्पराको विकास नै चासोक तङ्नामको वर्तमान अवस्था हो ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने [अन्धो बनाउने], कान दुखाउने [बहिरा बनाउने] जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार