
इलाम: दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा इलाममा आउँदो पुस १ गते रेड पाण्डा म्याराथन हुने भएको छ । यस अघि आउँदो असोज ४ गते शनिबार हुने भनिएको म्याराथन देशको बदलिदो राजनीतिक परिस्थीति कारण स्थगित भएको थियो ।
लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन इलाम चोक बजारदेखि सन्दकपुरसम्म म्याराथन हुने बिहिबार पत्रकार सम्मेलन गरेर रेड पाण्डा नेटवर्क कार्यक्रमका संयोजक राम रिमालले जानकारी गराए ।
प्ले फर नेचर र रेड पाण्डा नेटवर्कको आर्थिक सहयोगमा म्याराथन हुँने प्रतियोगितालाई तीन श्रेणीमा विभाजन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला र स्थानीय तर्फ इलाम, पाँचथर र ताप्लेजुङका स्थानीयले सहभागी हुन पाउँने छन् । सहभागी हुन स्थानीयले प्रवेश शुल्क ५ सय र अन्यले एक हजार आयोजकलाई बुझाउँनु पर्नेछ । प्रतियोगितामा भारतीय सीमा क्षेत्रमा बसोबास गर्नेले समेत अन्यको दस्तुर बुझाएर सहभागी हुन पाउँने आयोजकले जानकारी गराएको छ ।
पुरुष खुल्ला र महिला खुल्ला तर्फ विजेता प्रथमले एक लाख ५० हजार, द्वितियले एक लाख, तृतियले ५० हजार र सान्त्वाना विजेताले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै स्थानीय तर्फ विजेता प्रथमले २५ हजार द्वितियले २० हजार तृतीयले १० हजार र सान्त्वनाले ५ हजार पुरस्कार जित्नेछन् ।
नेटवर्क संयोजक रिमालका अनुसार प्रतियोगिताको दुरी ४४ दशमलव २ किलोमिटर हुनेछ । यसको प्रारम्भिक उचाई एक हजार दुई सय २० मिटरदेखि ३ हजार ६ सय १० मिटरसम्म हुने स्थानीय व्यवस्थापक तथा सन्दकपुर गाउँपालिका २ वडका अध्यक्ष सनम राईले बताए ।
करिब २५ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा सहभागी हुने इच्छुकले क्यू आर कोड स्क्यान गरेर अनलाइनमार्फत आवेदन दिन सकिने आयोजकले जनाएको छ ।
रेड पाण्डा संरक्षणसँगै पर्यटन प्रवर्द्धन, अनुसन्धान, जीविकोपार्जन र शैक्षिक अभियानलाई समेत यस म्याराथन मार्फत जोड्ने उद्देश्य लिएको प्रतियोगिता सञ्चालन गर्न नेपाली सेना रण शार्दूल गण इलामले प्राविधिक सहयोग गर्नेछ ।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनस्वास्थ्य कार्यालय, जिल्ला ट्राफिक कार्यालय, जिल्ला खेलकुद विकास समिति र पत्रकार महासंघ प्रत्यक्ष सरोकारवालाको भूमिकामा रहने बताइएको छ । यसका साथै इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको विशिष्ट भूमिका रहने आयोजक संस्थाका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी गराए ।
गएको वर्ष ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथनको निरन्तरताका रुपमा यस वर्ष इलाममा प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
दातृ निकायका प्रतिनिधि वाङ्चु भुटियाले खेलमार्फत संरक्षण सन्देश प्रवाह गर्न सकिने र समुदायलाई रेड पाण्डा संरक्षणमा थप जागरुक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको प्रतियोगिताको विशेषज्ञको भूमिकामा गणेश खतिवडा र सुनील देउलालाई नियुक्त गरिएको आयोजकले जनाएको छ ।

82 पटक हेरिएको 











