
इलाम: गैर सरकारी संस्था महासंघ इलामले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई अनुरोध पत्र बुझाएको छ ।
महासंघले आइतबार तोकिएको समयमा निर्वाचन सम्पन्न हुनुपर्ने माग सहित अनुरोध पत्र जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।
महासंघले अनुरोध पत्रमा तोकिएकै समयमा निर्वाचन गराउँन नागरिक समाजका सबै पक्षसँग परामर्श र सहकार्य गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको छ । तोकिएकै समयमा शान्तिपूर्ण भयरहित निश्पक्ष निर्वाचन हुने वातावरण सिर्जना गर्नुपर्ने अनुरोध पत्रमा भनिएको छ ।
गैसस महासंघ इलाका अध्यक्ष भक्तबहादुर थामी र सचिव मनकुमार बराइलीको हस्ताक्षर भएको अनुरोध पत्र मार्फत नागरिक संघ संगठनहरुको मनोबल उच्च पार्ने र भयरहित वातावरणमा आफ्ना सामाजिक गतिविधिहरुलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न माग समेत गरेका छन् ।
वर्तामा परिवेशमा नवयुवाले गरेको आन्दोलनको माग अनुरुप भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र वेथितिको अन्त्यको बलियो जग बसाई जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पत्र मार्फत प्रधानमन्त्रीलाई सुझाएका छन् ।
‘विषम परिस्थितिमा सरकारले राजनैतिक दल, निजीक्षेत्र, वित्तीय तथा सहकारी क्षेत्र, नागरिक संघ संगठन (गैसस) लगायत नागरिक समाजका सबै पक्षसँग परामर्श र सहकार्य गरी तोकिएको समयमा शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन हुने वातावरण सृजना गर्नुका साथै नवयुवाले गरेको आन्दोलनको माग अनुरुप भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र वेथितिको अन्त्यको बलियो जग वसाई जनतामा सकारात्मक सन्देश प्रवाह गर्न समेत हार्दिक अनुरोध गर्दछौं’ अनुरोध पत्रमा उल्लेख छ ।
‘परिवर्तित राजनीतिक अवस्थामा विभिन्न तत्वहरुले समाजिक संघ संस्थाले गरेका योगदानलाई अवमूल्यन गर्नेगरी निरुत्साहित गर्ने दुष्प्रयास गरिरहेका छन्’ अनुरोध पत्रमा भनिएको छ-‘नागरिक संघ संगठनहरु र त्यसमा आवद्ध अभियन्ताहरुलाई आपराधिकरण गर्न खोजिएको दुषित मनसाय प्रति समग्र नागरिक संघ संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
देशको समग्र विकासका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको महत्वपूर्ण भूमिका रहने अनुरोध पत्रमा उल्लेख गर्दै नागरिक समाजका मूख्य सरोकारवालाका रुपमा रहेका संघ संस्थाहरुले गाउँ टोलदेखि केन्द्रसम्म पहरेदारी, खवरदारी र साझेदारीको मर्म अनुसार नागरिक समाजको भूमिका निर्वाह गरेको जनाइएको छ ।
अनुरोध पत्र:


159 पटक हेरिएको 











