
काठमाण्डौ:आउँदो फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सहभागी हुन प्रमुख राजनीतिक दल सहमती जुटेको छ ।
शनिरबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
दलहरुले चुनावमा जान प्रतिबद्धा जनाएका र प्रधानमन्त्रीबाट सुरक्षाको ग्यारेन्टि गर्ने प्रतिबद्धता आएकाले अब चुनाव हुने, नहुने भन्ने अन्योल बाँकी नरहेको उनको भनाइ छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी भए । उहाँहरु तीनैजना नवयुवा आन्दोलनपछि पहिलोपटक बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा पुगेका हुन ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका ठूला दलका शीर्ष नेताहरूलाई जसरी पनि चुनाव सफल पार्न आग्रह गरेको उनको प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
शीर्ष तहमा लामो समयदेखि कायम संवादहीनतालाई अन्त्य गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गएको मङ्गलवार प्रधानमन्त्री सुशीला कार्की र तीन शीर्ष राजनीतिक नेताहरूसँगको छलफल आयोजना गरेसँगै यस किसिमको छलफलले तीव्रता पाएको हो । @ujyaaloonlineबाट।

82 पटक हेरिएको 











