
इलाम: मलिन अनुहारमा हल्का खुशीको उज्यालो छायो । उनिहरुले अविभावकको नाम नभएको नागरिकता हातमा लिए । प्रत्येकले प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग सम्झनाको तस्बिर खिचे र फर्किए, उहि घर इलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङ नजिकैको राहसल बाल अनाथालय ।
यो दृष्य हो, गएको आइतबार जिल्ला प्रशासन कार्यालय इलाममा पहिलो पटक अनाथालयमा बाल्यकाल गुजारेका चार युवाले नेपाली नागरिकता पाएको दिन । यो दिन कम्ती दु:खले जुरेको होइन राहसल बाल अनाथलयकी अध्यक्ष माया भट्टराईले सम्झिन् ।
लामो समयदेखि अनाथालयमा बस्दै आएका आफ्नो जन्म ठाउँ र अविभावकसँग बेखर अर्जुन र भीमलाई २० वर्षमा र २१ वर्ष पुगेका टेकबहादुर र मौसमलाई नेपालको नागरिक बनाउन पाउँदा कानुनी प्रकृयाको काममा जुट्दाको दु:खले सार्थकता पाएको बताउँछ्न् अनाथालयकी सचिव गीता कोइराला ।
‘कानुनी प्रकृयाका लागि काम गर्दा लामो समय भोक. तिर्खा र निन्द्रले छोएन । प्रजिअ सुनिता नेपालले जब नानीहरुलाई नागरिकता प्रदान गर्नु भयो त्यसपछि भोक, तिर्खा र निन्द्रा लाग्न थालेको छ । यस प्रकृयामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा कार्यालय र स्थानीय भञ्ज्याङ प्रहरी कार्यालय पटक पटक धाउँनु पर्यो, नानीहरुको जन्मदर्तादेखि नागरिकतासम्म पुग्दा । यो काममा स्थानीय चक्र मैनाली वडा सचिव अर्जुन थापाको अमूल्य सहयोगलाई भूल्नै सक्दैनौं । अन्तर हृदयदेखि अनाथालयको तर्फबाट धन्यवादका पात्र बने’ अध्यक्ष भट्टराईले भनिन् ।
पहिचानको हो, नागरिकताको सनाखन
सामान्यतया सनाखत आफन्तले गर्छन् । र सनाखत गर्नेले जसको सनाखत गर्छ, उसको जीवनको स्वामित्व समेत ग्रहण गर्नुपर्छ । अर्थात परम्परागत अंश दान गर्नुपर्छ । तर यो बुझाईलाई नेपालीपन र नेपाली मनको पहिचानसँग जोडिदिएको छ, राहसल बाल अनाथालयले ।

अनाथालयको चार युवाले पाएको नागरिकताले नेपाली पहिचानलाई सम्बोधन गरेको बिज्ञहरुको बुझाई छ । नेपाली भूमि भित्र जहाँ जन्मे पछि नेपाली नागरिकको पहिचान पाउँनुपर्छ । त्यसैले सम्भवत नेपालकै पहिलो हुन सक्छ संस्था अविभावक भएर नागरिकताका लागि संस्थाका तर्फबाट व्यक्तिले सनाखतमा गरेको ।
अनाथालयमा बस्ने चार युवाको सनाखत गर्ने आफन्त भेटिएनन् । र अविभावक बनिन् संस्थाका तर्फबाट राहसल बाल अनाथालयको अध्यक्ष माया भट्टराई । त्यसैको आधारमा नागरिकताको प्रमाण पत्र पाए २० वर्षका अर्जुन र भीम २१ वर्षका टेकबहादुर र मौसमले ।
नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भनिन् ‘नागरिक बन्ने र पाउँने हक संविधान र ऐनमै सुनिश्चित छ । राज्यको मूल प्रवाहबाट कोही पनि वञ्चित हुनु हुँदैन । आज यी युवाहरूले नागरिकता पाएसँगै उनीहरूको भविष्यको ढोका खुलेको छ । अब उनीहरूले ढुक्क भएर आफ्नो वृत्तिविकासमा लाग्न सक्नेछन् ।’
अविभावक बनेर सनाखत गरेकी अध्यक्ष भट्टराईले सुनाईन ‘नागरिकताले नेपाली पहिचान दिएको छ । जीवनका लागि खोजी खाने बाटो खुलेको छ । उच्च शिक्षा र रोजगारीका अवसरको बाटो तय भएको छ ।’
अविभावक नखुलेको व्यक्तिले नागरिकता पाउँने कानुनी व्यवस्था
नागरिकता बन्ने र पाउँने हक संविधान र ऐनमै सुनिश्चित छ । प्रकृयागत कार्यविधी कानुनले निर्धारण गरको छ । फरक यति मात्रै हो, कसैले सहजै पाउँछन् त कसैले अनेक उल्झन भोग्नु पर्छ ।
नागरिकताका लागि स्थानीय वडा कार्यालयले प्रकृयागत रुपमा सिफारिस गर्नुपर्छ । तर त्यसो भएन, राहसल बाल अनालयका युवाहरुको नाममा ।
सिफारिस प्रकृयागत रुपमा आएन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सुनाइन् । सिफारिसमा वडा अध्यक्षले किन हस्ताक्षर गरेनन केही खुलाइनन् । यस विषयमा वडा कार्यालयले केही खुलाएको छैन । तर पनि कानुनी अधिकार प्रयोग गर्दै प्रजिअ नेपालले नागरिकता प्रदान गरिन् ।
ऐनमा के छ ?
नेपाल नागरिकता ऐन, २०६३ को नेपाल नागरिकता ऐन (दोस्रो संशोधन), २०८२ को २ उपदफा ५(क) अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्क बिहिन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यीनै ब्यक्ति हुन भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको वा शैक्षिक योग्यताको प्रमाण पत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भएता पनि बाबुको पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजले उपदफा ५ बमोजिम बंशजको आधारमा नागरिकता प्राप्त गर्नेछ ।

ऐनको दफा ८ उपदफा १ (ग) १. अनुसार बाल मन्दिर अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस । २. सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस र कानुनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरकताको प्रमाण पत्र र सम्बन्धित स्थानीय तहको सिफारिस । ३. अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस । अनुसार नागरिकताको प्रमाण पत्र प्राप्त गर्नेछ ।

ऐनको दफा ८ कै उपदफा ४ मा कुनै व्यक्तिले उपदफा १ बमोजिम प्रमाण पेश गर्न नसकेमा वा दफा ३ क बमीजिम परिवारको सदस्यबाट सनाखत हुन नसकेमा तोकिएको अधिकारीले स्थलगत सर्जिमिन गरी निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तिमा दुई जना नेपाली नागरिकताको प्रमाण पत्र लिई सकेको व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तिमा एक जना पदाधिकारी वा सदस्यले सर्जिमिन स्थलमा नै गरेको सनाखत र सम्बन्धित वडा समितिले गरेको सिफारिसको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र दिन सक्नेछ । यो प्रयोजनका लागि स्थलगत सर्जिमिन गर्दा निवेदक नेपालमा जन्म भई निरन्तर रुपमा स्थायी बसोबास भएको तथ्य सपष्ट रुपमा उल्लेख भएको हुनु पर्नेछ ।


399 पटक हेरिएको 











