जिम्मेवारी बनाउन सिटी सफारी चालकलाई “सुरक्षित चालक” पोशाक वितरण


सेवारो खबर  59 पटक हेरिएको

विराटनगर: जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सोमबार सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटी सफारी (ई-रिक्सा) चालकलाई “सुरक्षित चालक” पोशाक वितरण गरेको छ ।

सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत कार्यालयले पोशाक वितरण गरेको जनाएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लगायत अतिथिहरुले पोशाकको अनुमोदन गर्नुका साथै विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्राको कामनाका साथ नम्वर सहितको “सुरक्षित चालक” लेखिएको ज्याकेट वितरण गरेका थिए ।

पोशाक वितरण गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले सवारी दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवारी बनाउन पोशाकले थप भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

बर्दीमा भएका प्रहरी जसरी नियममा रहेका हुन्छन् । सुरक्षित चालकको जिम्मेवारी लिएका  चालकले ट्राफिक नियमको पालना गरी यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राखी आफुलाई दिएको पोशाकको कदर गरी अमर्यादित र नियम बिपरीतको कार्य नगर्न प्रहरी नायव महानिरीक्षक घिमिरेले अनुरोध समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले ट्राफिक प्रहरी कर्मचारीलाई सवारी चालक, सह-चालक तथा सडक प्रयोगकर्ता प्रति समान ब्यवहार गर्दै प्रभावकारी रुपमा ट्राफिक व्यवस्थापन मिलाई सवारी दुर्घटना न्यूनिकरण गरी ट्राफिक प्रहरीको छविलाई उच्च बनाउन निर्देशन दिए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सिटी चालकहरूलाई “सुरक्षित चालक” पोशाक प्रदान गरिएको जानकारी गराए ।

‘छोटो दूरीको यात्राका लागि उपयोगी रहेको सफारी ट्राफिक नियम उल्लंघन गरी असुरक्षित तरिकाले सञ्चालनमा रहेकोले दुर्घटनाको जोखिम हुने भएकाले पोशाकको प्रयोगले ट्राफिक नियमको पालना बढ्ने छ । सवारी दुर्घटना न्यूनीकरणमा सहयोगी, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै आम यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्छ’, प्रहरी उपरीक्षक गिरीले भने।

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले महानगर भित्र सञ्चालनमा रहेका सिटि सफारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन स्थानीय तह सहकार्य गरेर अगाडि बढ्ने बताए ।

सिटी सफारी चालक संघका प्रतिनिधि भगवान बस्नेतले सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार बनाई सवारी दुर्घटना न्यूनीकरण गर्न चालक पोशाक प्रभावकारी रहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शन्तोष न्यौपानेले सफारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न पोशाक वितरण गरेको जानकारी गराए । न्यौपानेका अनुसार आवागमन सहज बनाउन दुर्घटना न्यूनीकरण गर्न सुरक्षित चालक अभियान कार्यक्रम अन्तर्गत पोशाक वितरण गरिएको हो ।

प्रहरी निरीक्षक न्यौपानेले वहाँले सफारीलाई अभिलेखीकरण गरेर चालकहरुलाई ट्राफिक नियम तथा सुरक्षित सवारी संचालन सम्बन्धी नियमित अनुशिक्षण तालिमहरु समेत प्रदान गर्ने जानकारी दिए ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पसका उप-प्राध्यापक मनिता भण्डारी, पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, विकल्प एण्ड अल्टरनेटिभका अध्यक्ष बसन्त अधिकारी, आईटी ईन्जिनियर सन्देश पोखरेल, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, शिक्षक तथा विद्यार्थीहरु, सिटि सफारी चालक संघका प्रतिनिधि तथा चालकहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार