
इलाम: किरात याक्थुङ चुम्लुङले किरात सिरिजङ्गा लिपि युनिकोड किबोर्ड एन्ड्रोइड मोबाइल एप मंगलबार सार्वजनिक गरेको छ ।
मोबाइल एप सार्वजनिकसँगै याक्थुङ/लिम्बु भाषा र लिपि डीजिटलाइजेसनको शिलान्यास गरेको जनाएको छ ।
चुम्लुङको लिम्बू (याक्थुङ) भाषा र किरात सिरिजंगा लिपि डिजिटलाइजेसन अभियान अन्तर्गत तयार गरिएको युनिकोडमा आधारित कम्प्युटर किबोर्ड र एन्ड्रोइड मोबाइल एप मंगलबार सार्वजनिक गरिएको हो ।
ललितपुरस्थित चुम्लुङ हिममा कियाचुका संस्थापक नन्द कन्दङ्वा, अध्यक्ष प्रेम येक्तेन, कोषाध्यक्ष अमर तुम्याहाङलगायतले एपसँगै लिपि डिजिटलाइजेसनबारे शिलालेखको समेत अनवारण गरेका थिए ।
चुम्लुङको दक्षिण कोरिया शाखाको आर्थिक सहयोगमा डिजिटलाइजेसनको काम एक वर्षअघि सुरु भएको हो । अहिले कियाचु नेपाल र दक्षिण कोरियाले काठमाडौँ विश्वविद्यालयसँग मिलेर भाषा र लिपिलाई डिजिटाइजेसनको काम सुरु गरेको कियाचु महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् ।
महासचिव निरन्ती तुम्बापोका अनुसार हाल आईओएस किबोर्ड, एप र गुगल ट्रान्सलेसनको काम अघि बढाइएको छ ।
याक्थुङ किबोर्ड निर्माण भएपनि प्रयोगमा भने याक्थुङहरू पछि परेको चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले बताए ।
अध्यक्ष येक्तेनले भने ‘सुरुमा हामीले किबोर्ड निर्माण गर्यौं । तर अहिले धेरै मान्छेले किर्बोड निर्माण पनि बुझ्दैन । युनिकोड बनाउने भन्ने मात्रै बुझ्छ । अनि अर्को बुझ्ने भनेको गुगल ट्रान्सलेसन । तर गुगल ट्रान्सलेसन एउटा मात्रै काम रैछ । म पनि यहाँ पसेपछि बल्ल थाहा पाएँ । त्यो युनिकोड त सन् २००३ मा नै इन्डियाबाट अलरेडि रजिस्ट्रेड भइसकेको रहेछ । यति अगाडि कि हाम्रो नेवारी भन्दा पनि अगाडि । तर प्रयोगमा ल्याउने कार्यमा चाहीँ हामी यति पछि पर्यौं, नेवारी कहाँ पुग्यो, नेपाली कहाँ पुग्यो हामी सुतेर बीसौं वर्ष बस्यौं ।’
चुम्लुङ संस्थापक अध्यक्ष नन्द कन्दङवाले याक्थुङ भाषा र लिपिलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न पाए डिजिटलाइजेसनका सामग्रीहरू प्रयोगमा आउने र यसको महत्व बढ्न सक्ने बताए ।
‘अहिले हामी भाषासँगै डिजिटल क्षेत्रमा जसरी अगाडि बढिरहेका छौं, टाउको चाहीँ अगाडि–अगाडि पुच्छर चाहीँ धेरै पछाडि भनेजस्तै भएको छ । त्यसलाई सँगसँगै लैजान सके त्यसको महत्व झन् हुन्छ ।’, उनले भने ।
प्राध्यापक अमर तुम्याहाङले याक्थुङ/लिम्बु भाषा र लिपि डीजिटलाइजेसनको अभियानमा भएका, जारी रहेका र भावि योजनाका महत्वपूर्ण कार्यहरूको विवरण पेश गरेका थिए ।
सुरुमा एन्ड्रोइडमा प्रयोग गर्नेगरी यसको तयारी गरियो, अब एप्पलमा पनि यसको एक्सेस होस् भनेर प्रयास गरिइराखिएको छ तुम्याहाङले जानकारी दिए ।
आइटी प्रशिक्षक बुधराम गुरुङले डिजिटल लिपिको अङ्गीकरणः चुनौती र सम्भावनाहरू शीर्षकमा बोलेका थिए । बोल्ने क्रममा गुरुङले अब एआइलाई पनि डिजाइन गर्नुपर्ने धारणा राखे । ‘जेन–अल्फाका बच्चाहरूले अब डाइरेक्ट च्याट जिपिटिसँग सोध्छन् । अब एआइलाई डिजाइन गर्नुपर्छ’, उनले भने, ‘अहिले एआइलाई किरात, चुम्लुङबारे सोध्यो भने धेरै कुरा झुटा हुन्छन् । किनकी त्यो अलरेडी बनेको छ । अरुले राखेको छ । हामीले त्यसलाई डिजाइन गर्नुपर्यो ।’

87 पटक हेरिएको 














