काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ। आज बिहान ६:१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले थप २५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म १ सय २९ स्थानको मतगणना सार्वजनिक भएको छ। तीमध्ये नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता लिएको छ। नेकपा एमाले सात स्थानमा विजयी भएको छ र चार स्थानमा अगाडि रहेको छ।
आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने एक स्थानमा अग्रता लिएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हासिल गरेका छन्। श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार भने अग्रस्थानमा रहेका छन्।
समानुपातिकतर्फ
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनतर्फ हालसम्म २३,७४,६२६ मतगणना सम्पन्न भएको छ। आयोगका अनुसार रास्वपाले १२,०३,१२४ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ४,०४,२३०, नेकपा एमालेले ३,२२,५०१र नेपाली कम्युनिस्ट पार्टीले १,५६,१६६ मत प्राप्त गरेका छन्। @radionepalonline बाट ।

48 पटक हेरिएको 














