
माङसेबुङ: रोयल स्पोर्टिङ क्लब दमक झापा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ को सोमबारको खेलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङको आत्मानन्द रंगशालामा भइरहेको खेलमा पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लगाउँदै दमक झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।
यो खेलसँगै पवित्रहाङमा गोल्ड कपको सेमिफाइनल समिकरण पुरा भएको छ ।
दमकलाई जित दिलाउन विपासा धिमाल, मनिषा चौधरी र अम्बिका लावतीले समान एक गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको दमक झापाले खेलको ३५ औं मिनेटमा विपासाको गोलमा सुरुवाती अग्रता लिए । उनले फ्रिकिकबाट गोल गरेकी हुन् ।
त्यसपछि भने थप दवावमा परेको पाहुना टोली दार्जिलिङले ३७ औं मिनेटमा फ्रिकिकबाट अर्को गोल सहनु पर्यो । यो पटक भने मनिषाले गोल गरिन । त्यस्तै खेलको ४२औं मिनेटमा कप्तान अम्बिकाले गोल गर्दै दमकलाई ३–० को सहज जित दिलाइन ।
खेलको प्लेयर अफ द म्याच दमककी विपासा धिमाल घोषित भईन् । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।
खेल अवधिमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँते÷तेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

178 पटक हेरिएको 














