
इलाम: इलामको नवौं जिल्लासभा ८ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको छ । प्रस्तावहरु के के पारित गर्यो जस्ताको जस्तै ।
१ नेपाल राष्ट्र निर्माण, राष्ट्रिय स्वाधिनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता समावेशी राज्य व्यवस्थाको प्राप्ति र त्यसैको जगमा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प सहित भएका बलिदानीपुर्ण आन्दोलनहरुमा त्यागका साथ प्राण उत्सर्ग गर्ने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रति यो जिल्ला सभा हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।
२ नेपाल सरकार, संघीय आयोजना अन्तर्गत डिभिजन सडक कार्यालय इलामको सुपरिवेक्षणमा संचालित जिल्ला सदरमुकामलाई जोडने बैकल्पिक मार्गका रुपमा रहेको केचना कंचनजंघामार्ग अन्तर्गत वेलासे हुदै जिल्ला सदरमुकाम जोडने मार्ग निर्माण व्यवसायीले समयमा काम नगर्दा विनियोजन भएको रकम समेत खर्च हुन नसकि फ्रिज भएको भन्ने व्यहोरा जानकारी हुन आएको हुँदा सो सडक आयोजना अविलम्व सम्पन्न हुने गरि कार्यान्वयन प्रकृया अघि बढाइ दिन यो जिल्ला सभा भौतिक योजना तथा निर्माण मन्त्रालयको ध्यानाकर्षण गर्दछ ।
३ खानेपानी तथा सरसफाई सेवालाइ जनस्तर सम्म सहज, सुलभ र प्रभावकारी रुपमा पुर्याउन इलाम जिल्लामा स्थापित नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामलाई इलामबासीहरुको पहुँच बाट टाढा रहेको धनकुटा स्थित कार्यालयमा गाभि स्थानान्तरण गरिएको विषयले इलाम जिल्लाबासिहरुलाइ दुखित र मर्माहत वनाएको छ । खानेपानी जस्तो आधारभुत सेवा प्रदान गर्ने खानेपानी कार्यालय सार्ने नेपाल सरकारको निर्णय पुनर्विचार गरि सो कार्यालयलाइ इलाम जिल्लामैडिभिजन कार्यालयकारुपमा पुनर्स्थापित गरि दिन हुन यो जिल्ला सभा नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
४ इलाम जिल्लाका धेरै ग्रामिण क्षेत्रहरुमा हालसम्म पनि विद्युत लाइन प्रशारणमा करिव ६५०० काठका पोलहरु प्रयोग भइरहेको देखिएको हुँदा विद्युत प्रशारणलाइ भरपर्दो र सुरक्षित बनाउन काठका पोलहरु विस्थापित गरि फलामे पोल जडान गरि दिन र विद्युत लाइन नपुगेका क्षेत्रमा विद्युतिकरण गरि दिन यो जिल्ला सभा नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गर्दछ ।
५ जिल्ला सभाको काम कर्तव्य र अधिकारलाइ व्यवस्थित गर्न प्रदेस सभाबाट जिल्ला सभा ऐन २०७५ जारी भएता पनि जिल्ला समन्वय समितिबाट जिल्ला स्तरमा अनुगमन र समन्वय गर्दा अवलम्वन गर्नु पर्ने कार्यविधि आवश्यक देखिएको हुदा उक्त विषयहरु स्पष्ट हुने गरि जिल्ला सभा नियमावली जारी गरि दिन यो जिल्ला सभा कोशी प्रदेस सरकारको पुनह: ध्यानाकर्षण गर्दछ ।
६ स्थानीय शासन कार्यसम्पादन मुल्याँकन प्रणाली (LGPAS) अनुसार हुने स्थानीय तहहरुको मुल्यांकन प्रणालीलाई स्थानीय तहहरुमा कार्यान्वयन गर्न कार्यरत जनशक्तिको क्षमता विकास तथा सुचना व्यवस्थापनमा समन्वय र सहजिकरण गर्न तथा जिल्ला समन्वय समितिको कार्यालयमा जनशक्ति व्यवस्थापन जिल्ला सुचना केन्द्रको संचालन र सुचना प्रविधिजन्य उपकरणहरुको संचालन र व्यवस्थापन गर्न स्थानीय तहहरु र जिल्ला समन्वय समितिको कार्यालयको लागत साझेदारीमा आ.व. २०८२/०८३ देखि २०८४/०८५ सम्म संचालन हुने गरि यो सुचना प्रविधि व्यवस्थापन कार्यक्रम प्रस्ताव तयार गरिएको छ ।
कार्यक्रमको विवरण
- कार्यक्रमको नाम : सुचना प्रविधि व्यवस्थापन कार्यक्रम
- कार्यक्रमको अवधि कार्यक्रम संचालन अवधि २०८२ श्रावण १ देखि २०८५ आषाढ मसान्त सम्म रहनेछ । (आ.व. २०८२/०८३ देखि आ.व. २०८४/०८५ सम्म)
- प्रस्तावित बार्षिक बजेट : ९,५०,०००.००
- श्रोतव्यवस्थापन : स्थानीय तह तथा जिल्ला समन्वय समितिको साझेदारीबाट श्रोतको व्यवस्थापन गरिनेछ ।
बार्षिक श्रोत व्यवस्थापन प्रस्ताव
| क्र.सं | लागत साझेदारहरु | प्रस्तावित रकम | कैफियत |
| १ | सुर्योदय नगरपालिका | १,००,०००.०० | |
| २ | इलाम नगरपालिका | १,००,०००.०० | |
| ३ | देउमाइ नगरपालिका | १,००,०००.०० | |
| ४ | माइ नगरपालिका | १,००,०००.०० | |
| ५ | फाकफोकथुम गाँउपालिका | ७५,०००.०० | |
| ६ | माङसेवुङ गाँउपालिका | ७५,०००.०० | |
| ७ | चुलाचुली गाँउपालिका | ७५,०००.०० | |
| ८ | रोङ गाँउपालिका | ७५,०००.०० | |
| ९ | माई जोगमाई गाँउपालिका | ७५,०००.०० | |
| १० | सन्दकपुर गाँउपालिका | ७५,०००.०० | |
| ११ | जिल्ला समन्वय समिति इलाम | १,००,०००.०० | |
| जम्मा | ९,५०,०००.०० |
कार्यक्रमको उदेश्य
क- स्थानीय तहहरुमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिहरुका लागि LGPAS सम्वन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिने ।
ख – स्थानीय तहहरुसँग सम्वन्धित आर्थिक सामाजिक पुरातात्विक धार्मिक साँस्कृतिक र पर्यटकिय क्षेत्र सँग सम्वन्धित सुचनाहरुको एकिकृत अभिलेख तयार गरि जिल्ला समन्वय समितिको कार्यालयमा राखिने
ग- जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिने DATA CENTER मा सुचना प्रविधिसँग सम्वन्धित सामाग्रीहरुको व्यवस्थापन गरिने
घ- जिल्ला समन्वय समितिको कार्यालयमा सुचना प्रविधि सम्वन्धि कार्यहरुको व्यवस्थापन गर्न जनशक्तिको व्यवस्थापन गरिने छ ।
७ नेपाल सरकार, संघीय आयोजना अन्तर्गत संचालित दमक चिसापानी मार्ग, भालुखोप दानावारी सडक आत्मानन्द मार्ग, मदन भण्डारी मार्ग अन्तर्गत इलाम खण्ड को कार्यप्रगति सुस्त रहेको हुँदा उपरोक्त आयोजनाहरु चाँडो सम्पन्न हुने गरि कार्यान्वयन प्रकृया अघि वढाइ दिन हुन यो जिल्ला सभा नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
८ इलाम जिल्लाको देउमाइ नगरपालिका मंगलवारेबाट गजुरमुखी सम्मको सडक अत्यन्त दयनिय भएको र सो सडकको निर्माण हुँदा माङसेवुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका बासिन्दाहरुलाइ सदरमुकाम सम्म आवत जावत हुन सहज भइ जिल्लाको विकट पश्शिमि भुभाग जिल्ला सदरमुकाम सम्मको सडक संजालमा जोडिने हुँदा उक्त सडक आयोजनालाइ योजनामा समावेश गरि कार्यान्वयन प्रकृया अघि बढाइ दिन हुन यो जिल्ला सभा कोशी प्रदेस सरकार र नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।

222 पटक हेरिएको 














