आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८२’इलामबाट सम्पादक योङहाङ पुरस्कृत


बुद्दमाया सोङ्मी/सरिता राई  152 पटक हेरिएको

इलाम : सञ्चारकर्मी राम योङहाङ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८२’बाट पुरस्कृत भएका छन् । योङहाङ नगद १० हजार दोसल्ला र सम्मान पत्र सहित पुरस्कृत भएका हुन ।

फोनिजका संघीय उपाध्यक्ष विश्वराज तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, फोजिज कोशी प्रदेश अध्यक्ष विजयबोध लावती लगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे ।

इलामको माङसेबुङ गाउँपालिका-३ निवासी योङहाङसँग १९ वर्षको पत्रकारिताको अनुभव छ । बुलन्द मल्टिमिडिया प्राइभेट लिमिटेडबाट सञ्चालित नयाँ बुलन्दडटकमका सञ्चालक सम्पादक हुन ।

२०६४ सालमा स्थानीय रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील योङहाङ  तीन वषर्देखि राष्ट्रिय समासचार समिति (रासस) र १४ वर्षदेखि सौर्य राष्ट्रिय दैनिकका इलाम समाचारदाता समेत छन् ।

पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको सामाजिक, राजनीतिक, आर्थिक, भाषा, कला, लिपि, सांस्कृति, धर्म, हक अधिकारका मुद्धा बिषयमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन् ।

मानविकी तथा समाज विज्ञान संकायमा ग्रामीण विकास विषय र व्यवस्थापन संकायमा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका योङहाङले कानुनमा स्नातक योङहाङ इलाम एफएम, इलाम (२०६४-२०६९) पूर्वसन्देश दैनिक, झापा (२०६८-२०७०) मोफसल साप्ताहिक, मोरङ (२०६४-२०७९) इलाम पोष्ट दैनिक, इलाम (२०६७-२०७२) पिपुल्स टाइम्स दैनिक, झापा (२०६७-२०७१) कमाण्डर पोष्ट दैनिक, काठमाडौं (२०७०-२०७१) नागरिक एफएम, झापा (२०६७-२०७३) इक्ला साप्ताहिक, इलाम (२०७१-२०७२) मा काम गरेको अनुभव छ ।

पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्पादक योङहाङलाई सो पुरस्कार प्रदान गरिएको फोनिज इलाम अध्यक्ष याम माबोहाङले बताए ।

‘पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसङ्ख्यक/लोपोन्मुख आदिवासी जनवातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सिप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, आलेख, वहस/पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक जना पत्रकारलाई बर्सेनि पुरस्कृत गर्ने कार्यविधि बनाएका छौं,’ अध्यक्ष माबोहाङले भने, ‘सोही कार्यविधि बमोजिम यस पटक हामीले योङहाङलाई पुरस्कृत गरेका हौं ।’

फोनिज इलामले चार वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ खडा गरी पुरस्कार स्थापना गरेको थियो । सो कोषको ब्याजबाट आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष फोनिजको स्थापना दिवसको दिन (साउन २७ गते) पुरस्कार वितरण गर्ने गरिएको  भएपनि यस वर्ष विशेष कारण कार्यक्रम पछि धकेलिएको अध्यक्ष माबोहाङले जानकारी गराए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट यस अघि पत्रकार सटेन्द्र जवेगू, ज्ञानु केदेम र सुजता सुनुवार पुरस्कृत भइसकेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार