
काठमाण्डौं: मौसविद्हरूले यसपालि नेपालबाट मनसुन सेप्टेम्बर महिनाको अन्त्यमा मात्रै बाहिरिने अनुमान गरेका छन् । तर पछिल्लो अवस्था विश्लेषण गर्दा त्यसपछि पनि अझै केही दिन वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ताले बताएकी छन्।
“समग्रमा हेर्दा पछिल्लो अवधिमा केही बढी वर्षा भएको देखिन्छ । अहिलेकै प्रवृत्ति हेर्दा दशैँसम्म मनसुन बाहिरिने देखिँदैन,” प्रवक्ता विभूति पोखरेलले बीबीसी न्यूज नेपालीसँग भनिन् ।
अहिले भारतमा पश्चिमी भेगबाट मनसुन बाहिरिने क्रम सुरु भइसकेको छ। तर नेपालमा भने मनसुनको बहिर्गमनका लागि केही साता कुर्नुपर्ने र यसपालि ‘हिलेदशैँ’ हुन सक्ने सम्भावना छ ।’
“भारत, बाङ्ग्लादेश, नेपाल सबैको लागि एउटै प्रणाली भए पनि त्यो बीचमा अड्किने अवस्था बनिरहेको हुन्छ। त्यस्तो अवस्थामा कतैबाट बाहिरिने र कतै सक्रिय रहने अवस्था हुन सक्छ। आउँदा दिनमा थप स्पष्टता आउँदै जाने छ,” पोखरेलले भनिन् ।
नेपालमा यो वर्ष सामान्यतया विगतका वर्षको भन्दा केही दिनअगाडि जेठ १५ गते मनसुन भित्रिएको थियो।मौसमविद्हरूले ३० सेप्टेम्बर (असोज १४) मा मनसुन बाहिरिने प्रक्षेपण गरेका थिए । त्यो दिन बडादशैँको अष्टमी पर्छ । गत वर्ष १० जुनमा भित्रिएको मनसुनको मौसम प्रणाली १२ अक्टोबरमा बाहिरिएको थियो । @www.bbc.com/nepali बाट ।

125 पटक हेरिएको 














