‘संविधानमै लिम्बुवान सुनिश्चित हुनुपर्छ’-कियाचु


सेवारो खबर  194 पटक हेरिएको

इलाम: संविधानमै लिम्बुवान सुनिश्चित हुनुपर्ने किरात याक्थुङ चुम्लुङले माग गरेको छ । संविधान दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै लिम्बुवान विनाको संविधान प्रतिको असहमति जारी रहेको उल्लेख गरेको छ ।

किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ‘लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि र सभ्यता रहेको भूगोलमा लिम्बुवानको सुनिश्चितता अपरिहार्य हुँदाहुँदै पनि यसलाई लत्याउँदै षडयन्त्रमूलक तरिकाले जबरजस्ती जारी गरिएको नेपालको संविधान २०७२ प्रति हाम्रो असहमाति जारी छ ।’

‘आम याक्थुङ/लिम्बुहरूको लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रतिको हाम्रो असमति नेपालको संविधान २०७२ घोषणा भएकै दिनदेखि जारी रहेको छ र आज २०८२ असोज ३ गतेको दिन पनि पुनः उद्घोष गर्दछौँ । साथै, ऐतिहासिक लिम्बुवान भूगोलको क्षेत्र प्रदेश नं. १ मा २०७९ फागुन १७ गतेदेखि लादिएको गोत्रीय नामप्रति पनि कियाचु आफ्नो असहमति र प्रतिरोध जारी छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा ‘एकल जातीय दलतान्त्रिक निरङ्कुश शासकहरूको षडयन्त्रकारी, अलोकतान्त्रिक प्रक्रियाबाट पञ्चायती भूतलाई ब्युँताउँदै अराष्ट्रिय र एकल जातीय शाषकहरूको गोत्रीय साम्प्रदायिक नाम कोशी विरुद्धमा कियाचु प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई नेतृत्व प्रदान गर्दै फागुन १७ गते देखि नै प्रदेशको गोत्रीय नाम कोशी खारेज गरेर ‘लिम्बुवान, किरात’ वा यो नामसहित पहिचानको आधारमा पुनः नामकरणको लागि सशक्त आन्दोलनमा रहेको छ । भर्खरै मूलरूपमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्ध भएको ऐतिहासिक रूपमा सफल जेन्जी आन्दोलनलनले कुशासन र भ्रष्टाचरको नाइकेहरूलाई सत्ताच्युत गर्न सफल हुने गरी भएको आन्दोलनमा हुनपुगेको अकल्पनीय क्षतिप्रति कियाचु दुःख प्रकट गर्दछ’ उल्लेख छ ।

‘आन्दोलनको सफलतासँगै गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी लोकतन्त्र जस्ता पछिल्लो राजनीतिक उपलब्धिहरूको संरक्षण गर्दै, पहिचान र सङ्घीयताको मूल मर्म अनुसार नेपालको ऐतिहासिक प्रथम संविधान सभाले निर्धारण गरेको पहिचानको पाँच आधारको जगमा वस्तुगत रूपमा निर्धारण गरेको प्रदेशको संरचनाका आधारमा लिम्बुवान सहितको सङ्घीय संरचना निर्माण गर्दै संविधानमा कायम सबै विभेदकारी प्रावधानहरू खारेज गरी संविधान पुनर्लेखन मार्फत संशोधन नगरेसम्म निरन्तर रूपमा यो संविधानप्रति कियाचु आफ्नो असहमति जारी राख्दै आन्दोलित रहिरने प्रतिबद्धता जाहेर गर्दछ’ विज्ञप्तीमा भिनएको छ ।

साथै ‘मिति २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा सहादत प्रप्त गर्नुभएका महान् सहिदहरू प्रति किरात याक्थुङ चुम्लुङ (कियाचु) हार्दिक श्रद्धाञ्जी अर्पण गर्दछ साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ’ भनिएको छ ।

बिज्ञप्ती:

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार