झापा: जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् ।
यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौताअनुसार जिल्लाका १५ वटै पालिकामा गत वर्षदेखि अटिजम भएकाको पहिचान गरी उनीहरुलाई स्वास्थ्य, शिक्षालगायत मूल प्रवाहीकरणमा समाहित गरिएको छ ।
जिल्लामा पहिचान भएका १३ हजार ८६३ जना अपाङ्गता भएका व्यक्तिमध्ये तीन सय ८१ जना बालबालिकामा अटिजमको समस्या छ । प्रदेश सरकारले पाँच वर्ष अगाडिदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरु गरेको हो । कार्यक्रम इलाम, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, पाँचथर, सङ्खुवासभामा सञ्चालन भएको थियो ।
झापा, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सम्झौताअनुसार गत वर्षदेखि अपाङ्गता पुनःस्थापनाका लागि कार्यक्रम सञ्चालन भइरहेको संयोजक घिमिरेले जानकारी दिए ।
जिल्लामा अटिजम भएका करिब सय जनालाई विर्तामोडको गरामनीस्थित महेन्द्ररत्न मावि र दमकको एक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ । यी दुवै विद्यालयमा अटिजम भएका बालबालिकाले पालिकाबाट निःशुल्क थेरापीसहितको सेवा पाइरहेका छन् ।
भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाले बजेट व्यवस्थापन गरेर अटिजम केयर सेन्टर सञ्चालनको तयारी गरिरहेका छन् भने अन्य पालिकाले समुदायमा छलफल थालेका छन् ।
अटिजम भनेको के हो ?
अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो ।
अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ ।@radionepalonline.comबाट।

116 पटक हेरिएको 











