काठमाण्डौं: समानुपातिक प्रतिनीधित्वलाई सही ढंगले कार्यान्वनय गर्नुपर्ने इन्डिजिनियस जेन्जी कलेक्टिभको प्रदर्शनका सहभागीले बताएका छन् । कलेक्टिभले संसद भवन अगाडि गरेको प्रदर्शनका बक्ताले दलहरुले समानुपातिक प्रणालीको दुरुपयोग नगर्न माग गरे ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले समानुपातिक प्रणालीलाई दलहरुले सहि ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले नयाँ भनिएका दलहरुले पनि समानुपातिक प्रतिनिधित्वको नाममा विकृति फैलाउने कार्य अगाडि बढाईरहेको बताउँदै यसले सहि ढंगले सबैको प्रतिनिधीत्व नहुँने बताए ।
अध्यक्ष येकेतेनले भने ‘दलितको प्रतिनिधि भनेर सेलिब्रिटी राख्ने, आदिवासीको नाममा आदिवासीलाई प्रतिनिधि नगर्ने व्यक्तिलाई समानुपातिक कोटा दिने अभ्यास बन्द हुनुपर्छ । नयाँ पार्टीहरूको सूची पनि पुराना पार्टीभन्दा फरक देखिएन, बरु ‘तरमारा वर्ग’ समूहको निरन्तरता रहेजस्तो देखियो ।’
इन्डिजिनियस जेन–जेड कलेक्टिभका पेमा वाङ्मु लामाले समानुपातिक प्रणालीले राज्यको कुनै एक वर्गको लागि मात्र नभई समग्र सीमान्तकृत समुदायको हक अधिकारलाई सुनिश्चित गर्नु पर्ने माग गरे ।
अहिले भएको आन्दोलन कुनै एक वर्गका लागि नभई समग्र सीमान्तकृत समुदायका हक अधिकारका लागि भएको दाबी गर्दै लामाले भने “हाम्रो आन्दोलन सीमित वर्गका लागि होइन । अबको चुनावले संसदलाई अझ बढी समावेशी र बहुल समुदायको वास्तविक प्रतिनिधित्व हुने ठाउँ बनाउनैपर्छ ।’
जेन्जी अभियन्ता माजित ओन्सारीले संसदमा सबै जातजाति, आदिवासी, दलित, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा लोपोन्मुख समुदायको वास्तविक प्रतिनिधित्व शुनिश्चित हुनुपर्नेमा जोड दिए ।
प्रर्दशनमा इन्डिजिनियस जेन–जेड कलेक्टिभका सफलता थिङ तामाङले संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशीताको लक्षित वर्गले पाउँनु पर्ने माग राखे । उनले पुराना दलले समानुपातिकको मर्म बुझेनन् भने, अहिले नयाँ भनिएका पार्टीहरूले पनि समानुपातिकको सिद्धान्तलाई दुरुपयोग गर्न नहुँने बताइन् ।
अधिवक्ता कविता बाहिङ र साङ्केन राईले दलहरूले निजी स्वार्थमा नलागी समानुपातिकको मुद्दा उठाउँदा पनि वास्तविक सीमान्तकृत समुदायका सार्थक प्रतिनिधित्वमा जोड दिनु पर्ने बताए ।
‘समानुपातिकको कुरा उठ्दा तपाईँहरूको निजी ‘पेवा’ हो भन्ने जस्तो प्रश्न उठाइन्छ, तर यो समुदायको अधिकारको मुद्दा हो’ उनिहरुले भने ।
प्रर्दशनमा विरोध स्वरुप कविताहरुपनि बाचन गरिएको थियो । अधिवक्ता कविता वाहिङले घोटाला शिर्षकमा विरोध स्वरुप कविता सुनाइन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी महासचिव शोभा सुनुवारले पनि देश भन्दा पुरानो मान्छे हामी कविता बाचन गरिन् ।
समानुपातिक प्रतिनिधित्वको सूची तयार गर्दा प्रयोग गरिएको मापदण्ड,प्रक्रिया र औचित्यको तत्काल सार्वजनिक खुलासा गर भन्ने माग सहित प्रर्दशन गरिएको हो ।
बानेश्वरस्थित संघिय संसद भवन अगाडी पुगेर इन्डिजिनियस जेन-जी कलेक्टिभ लगायत अभियन्ताहरुले नारावाजी समेत गरे ।
प्रदर्शनमा सहभागिहरुले नेताको आसेपासे होइन उत्पीडितलाई अवसर दे, संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक व्यावस्था तत्काल लागु गर, लोकतन्त्रको बचाउ गर पारिवारिक कम्पनी बन्द गर, समावेशी समानुपातिकको नाममा आफ्नो आसेपासे भरौटेलाई ठाउँ दिन पाईदैन लगायत लेखिएका प्लेकार्डहरु प्रर्दशन गर्दै विरोध गरेका थिए ।

195 पटक हेरिएको 











