
काठमाडौं: काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०२६ आइतबार सुरु भएको छ ।
राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन) रजत जयन्तीको अवसरमा महोत्सव शुरु भएको हो ।
महोत्सवको काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्य रहेको छ ।
“ज्ञानको साझा प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण” भन्ने मूल नारासहित वि.सं. २०८२ माघ २५ देखि २७ गतेसम्म चल्लने महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।
सम्मेलनले नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले “ज्ञानको साझा प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण” नाराको साथ आयोजना गरेको यस कार्यक्रमले आठ सयभन्दा बढी सहभागी जनजातिको अधिकार सुनिश्चित गरेकोमा प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गरे ।
उनले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने उनले बताउँदै ज्ञान सम्मेलनमा सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको जोड दिए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक अर्थमा सरकारले लागू गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनेछौँ’ ।
नेपालको संविधानले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताउँदै उनले सबै समुदायको अधिकार संरक्षण गर्ने दायित्व सरकारले निभाउँदै आएको प्रष्ट पारे ।

‘राज्यको नीतिनिर्माण तहमा सबै समुदायको सहभागिता वृद्धि गर्न सरकार निरन्तर अग्रसर छ’, गृहमन्त्रीले भने, “समानुपाति समावेशी सिद्धान्त संविधानको मूल मर्म हो । यसलाई बचाउनु सबैको कर्तव्य हो ।’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विकास र समृद्धिको काम गर्दा सरकारले आदिवासी जनजातिको सांस्कृतिक, भाषिक, भौतिक ज्ञानको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।
प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिको पुख्र्यौली ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तीनदिने सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
तीनदिने सम्मेलनमा आदिवासी जनजातिका परम्परागत ज्ञानमाथि छलफल हुनुका साथै छलफलबाट निस्किएको निष्कर्षले राज्यको नीतिनिर्माण तथा रुपान्तरण गर्न सहयोगी भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे। सम्मेलनमा आदिवासी ज्ञान, अधिकार, संस्कृति, नीति तथा अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी बहस, प्रस्तुति र अनुभव आदान–प्रदान गरिने आयोजकको भनाइ छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का अध्यक्ष गेल्जे लामा शेर्पाले राज्यले आदिवासी जनजातिको परम्परागत संस्कृति र ज्ञानलाई पुस्तान्तरण गर्दै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रा कला र संस्कृति लोप हुँदैछन्, विकासका नाममा आदिवासीको मर्म मार्न पाइँदैन । सबैको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व हो’, उनले भने ।
स्थापनापछि धेरै आरोह अवरोहमा अहम भूमिका खेलेकोमा आभार प्रकट गर्दै भने यो सम्मेलन एतिहासिक रहने उनले बताए । आदिवासीको पूर्वज अभ्यासलाई असभ्य र रुढीवादीको रुपमा परिभाषित गरेकोमा राज्यले चासो नलिएको उनले बताए ।

आदिवासी जनजातिका भूगोल,वनजंगल आदि राज्यले खोसेको,विना परामर्श राज्यले विध्वसं निम्त्याउने विकास गरेकोमा आक्रोस पोखे । यो सम्मेलनबाट आउने दिनमा आदिवासी जातिमा हेरिने हेयको नजरप्रति परिवर्तन र राज्यबाट उचित परिवर्तन ल्याउने आशा व्यक्त गरे ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आदिबासीको ज्ञान, सीप र परम्परा लोप हुन नदिन सबै सक्रिय हुनुपर्ने बताए । राज्यको तहबाट पनि त्यसका लागि भूमिका खेल्न उनले माग गरे ।
सम्मेलनमा आदिवासीको प्रथा, परम्परा, शासन प्रणालीका विषयमा विभिन्न विज्ञका ८१ वटा कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल हुने प्रतिष्ठानका सदस्यसचिव ज्ञानेन्द्र पुनले जानकारी गराए ।
यसैबीचमा विभिन्न क्षेत्रमा योगदान र्पुयाएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा जीतपाल किँरात, चन्द्रबहादुर गुरुङ, गोकुलप्रसाद घर्ती र मरणोपरान्तमा झकबहादुर थापामगर रहेका छन् ।
उद्घाटन कार्यक्रममा सुनुवार समुदायको स्याँदर शिल नृत्य,भोटे समुदायको स्याप्रो नृत्यसहित विभिन्न आदिवासी सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । सुर्खेतबाट राउटे समूदायको उपस्थिति रहेको थियो ।

69 पटक हेरिएको 











