गुमनाम, नेपालको पहिलो शहिद लखन थापा मगरको १४९ औं स्मृति दिवस  


सेवारो खबर  43 पटक हेरिएको

आज फागुन २ गते । नेपाली इतिहासमा नेपालको पहिलो शहिद लखन थापाको १४९ औं स्मृति दिवस । थापालाई सम्झने खाशै औपचारिक कार्यक्रम देखिएन ।

राज्यको कागजमा सीमित पहिलो शहिदको स्मृति दिवस विस्मृतिमा गुमनाम बन्यो । राज्यद्वारा कुनै औपचारिक कार्यक्रम भएन ।

जंगबहादुर राणाको शासनको विरुद्धमा संगठित भएको भन्दै थापालाई वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले गोरखा बुंकोट काहुले भंगारको आफ्नै किल्ला परिसरको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा छाला समेत काढेर बर्बरतापूर्वक झुण्ड्याइयो । यहि दिनको सम्झनामा प्रत्येक फागुन २ गते स्मृति दिवस सिमित संघसंस्थाले मनाउँने गरेका छन् ।

तत्कालिन समयमा नेपालमा सर्वसाधारण जनताहरुले औपचारिक शिक्षा हासिल गर्नको लागि कुनै व्यवस्था नभएकाले लखन थापाले तेश्रो गोरखा राइफल्समा कार्यरत नातेदारको फेमिली क्वार्टरमा बसेर भारतको अलमोडामा शिक्षा हासिल गरी नेपाल फर्किएर वि.सं. १९११ मा पुख्र्यौली मगर पल्टन (पुरानो गोरख पल्टन)मा भर्ना भए ।

लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपाली सेनाको क्याप्टेन भइसकेका थिए । तर पद र भौतिक सुविधाको कुनै पर्वाह नगरी वि.सं. १९२७ सालमा आफ्ना मित्र जयसिंह चुमीलाई साथमा लिई सेनाको जागिर छाडेर जंगबहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित बनाउने कार्यमा लागे ।

जंगबहादुरको दमन, अत्याचार र अन्याय विरुद्धको विद्रोही अभियानमा जनसमर्थन जुटाउन मनकामना र सिद्ध लखन थापाको प्रसिद्धिलाई रणनीतिक रुपमा प्रयोग गरिएको थियो । वि.सं. १९३२ सालमा जंगबहादुरको शासनविरुद्ध एकतावद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा गर्यो । यो नै जंगबहादुरको सत्ता विरुद्ध नेपाली जनताद्धारा घोषित पहिलो बैकल्पिक सत्ता थियो ।

नेपालको राजनीतिक इतिहासमा वि.सं. १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापामगरको नेतृत्वमा भएको विद्रोह नै राणातन्त्र विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो । जंगबहादुरको निरंकुश शासन विरुद्ध जनताद्वारा बैकल्पिक सत्ता स्थापना गरेर अगाडि बढेको यो सशस्त्र विद्रोह थियो । यसले नेपाली समाजमा राजनीतिक चेतनाको दियो बल्यो । प्रजातान्त्रिक आन्दोलनको जग बसाल्यो ।

गोरखाको वुंकोट काहुले भङ्गारमा लखनले जनसमुदायको सहयोगमा एउटा बलियो किल्ला निर्माण गरे । किल्लामा भेला भएका जनताहरुलाई राजनीतिक चेतना प्रदान गरी जंगबहादुरको अत्याचारी शासन विरुद्ध जन मिलिसिया तयार गरे । लखनको तार्किक क्षमता र असल व्यक्तित्वले गर्दा छोटो समयमानै जंगबहादुरको विरुद्ध धेरै जनताहरु संगठित भए ।

तत्कालिन समयमा गोरखाको मुद्दामामिला हेर्ने सर्वजित थापा क्षेत्रीले लखनको नेतृत्वमा सशस्त्र जनविद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरे । यो सूचना पाएपछि जंगबहादुर क्रुद्ध भई लखन लगायत उनका सहयोगीहरुलाई पक्रेर ल्याउन धीर शमशेरलाई आदेश दिए । आदेश बमोजिम देवीदत्त पल्टनका सैनिकहरु गोरखा पुगी लखनको किल्लालाई चारैतिरबाट घेरा हाले । देवीदत्त पल्टन र विद्रोही सेनाबीच भिडन्त भयो । अन्तमा विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई बाँसको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौँ पुयाईयो । इतिहासकार प्रमोद शमशेर राणाका अनुसार विद्रोहीहरुमाथि वर्वरतापूवर्क कोर्रा हानी ठूलो यातना दिई थापाथली दरबारमा मुद्दा चलाइयो ।

लखन र उनका सहयोगीहरुलाई झुण्ड्याएर मार्ने फैसला भयो । तर राणा शासक सामु उनीहरु झुकेनन् । वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोट काहुले भंगारको आफ्नै किल्ला परिसरको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा छाला समेत काढेर बर्बरतापूर्वक झुण्ड्याइयो । सँगसँगै अन्य विद्रोहीहरुलाई पनि बलीमा चढाईयो । यस विद्रोहका नायक लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहीद घोषणा गर्यो । वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहीदको दर्जा प्रदान गरयो । साथै वि.सं. २०७३ मा प्रथम शहीद लखनको नाम र फोटो अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।

संघीयता कार्यान्वयनसँगै लखनको नाममा गोरखामा शहीद लखन गाउँपालिका बनेको छ । निश्चय नै यो पदवी उनको बलिदानीपूर्ण त्याग र जनअधिकार स्थापनाका लागि गरेको कठिन संघर्षप्रतिको सम्मान हो । साथै यो सम्मान लोकतन्त्र र न्यायप्रेमी सम्पूर्ण नेपाली जनताहरुको गौरवको विषय हो ।

थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो । आफ्नो माता–पिताको जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र भएकाले लखनको वास्तविक नाम लक्ष्मणसिंह थापा नेपालको इतिहासमा सुनौलो प्रजातान्त्रिक युग आरम्भकर्ताको रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार