कुलमान घिसिङलाई हटाएपछि सडकदेखि संसद्‌सम्म सरकारको विरोध


सेवारो खबर  191 पटक हेरिएको

नेपालमा लोडशेडिङ अन्त्य गरेको श्रेय पाएका नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि सरकारले सामाजिक सञ्जाल, सडक र सदन सबैतिरबाट विरोध एवं आक्रोशको सामना गरिरहेको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसकै वरिष्ठ नेताहरूको आलोचना खेपिरहेको सरकारविरुद्ध विपक्षी दलहरूले सडक र सदन दुवैतिरबाट विरोध गर्न थालेका छन् ।

घिसिङलाई हटाएको समाचारलाई सरकारले आधिकारिक रूपमा पुष्टि नगर्दै आक्रोश व्यक्त गरेका विपक्षीहरू अहिले घिसिङको पक्षमा उभिएका छन् ।

त्यसले गर्दा पूर्वराजा तथा राजावादीहरूको सक्रियताका कारण राजनीतिक दबावमा परेको ठानिएको सरकार थप अर्को चेपुवामा परेको विश्लेषण कतिपयले गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ घिसिङलाई हटाएको विषयतर्फ सङ्केत गर्दै मानिसहरूले “सानो त्यान्द्रो” लाई समाएर “तिललाई पहाड बनाइरहेको” बताएका छन् ।

यद्यपि सत्तापक्षकै नेता तथा कार्यकर्तालाई समेत कुलमान घिसिङलाई हटाइएको विषयमा सरकारको प्रतिरक्षा गर्न कठिनाइ भएको देखिएको छ ।

घिसिङले आफूलाई हटाइएको विषयमा कानुनी बाटोबाट “न्याय” खोज्ने बताइसकेका छन् ।

उनको स्थानमा नियुक्त भएका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले “लामो समयपछि आफूले न्याय पाएको’ उल्लेख गरेका छन् ।

घिसिङलाई दोस्रो पटक नियुक्त गर्ने बेला शाक्यलाई हटाइएको थियो। उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए। तर उक्त मुद्दाको फैसला अझै आइसकेको छैन ।@bbc.comबाट ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार