
इलाम: इलाममा पुस २४ देखि २६ सम्म निसान पदयात्रा महोत्सव हुँदैछ । नेपाल एकिकरणको इतिहासको सम्झनामा महोत्सव हुन लागेको हो ।
महोत्सवको पहिलो दिन पुस २४ गते सूर्योदय नगरपालिकाको मेची बजारबाट शुरुहुँने पदयात्रा निसान ल्याएर राखिएको करफोकको पूर्णेडाँडामा आएर बास बस्नेछ ।
पुस २५ मा पूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने छ । उद्घाटनपछि पुन सुरु हुने यात्रा माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्तीटार पुगेर बिश्राम लिने छ । र पुस २६ गते बिहान नामसालिङबाट माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम बजारको माई स्थानमा पुगरे यात्राले बिश्राम लिन कार्यक्रम रहेको बताइएको छ ।
पदयात्राको शुभारम्भ नेपाली सेनाले नेपाल एकीकरण गर्दाको तत्कालीन सेनाको ड्रेस र त्यस बेला प्रयोग भएको हतियारको झल्को दिने गरी तयारी गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी गराए ।
कार्यक्रममा एकीकरणको बेला सेनाको कालो ड्रेस, पटुकी सहित खुँडा, खुकुरी सहित देखाउने १० जनाको टिम र पाँच जनाको ब्यान्ड समूह छ ।
इलाम, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले पदयात्राको सम्पूर्ण तयारी गरि सकेको जनाएका छन् । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शनलगायतको तयारी पुरा भइसकेको स्थानीय पालिकाले जनाएका छन् ।
तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । पदयात्रामा करिब सय पदयात्री सहभागी हुनेछन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् ।
निसान पदयात्राको इतिहास
नेपाल एकीकरण गर्दै जाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भयो । नेपाल एकीकरण गर्दै जाँदा नेपाली सेनाका तत्कालीन श्रीनाथ सिंह पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाडेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।
पदयात्राले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको इतिहासलाई सम्झाउने र निसान मार्गको विकास गर्ने लक्षका साथ आयोजना गरिएको बताइएको छ । त्यस बेला पूर्वी सीमा टिस्टाबाट फर्काइएका निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको थियो ।
इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माइस्थान ल्याइएको थियो । निसान पदमार्ग करिब ४१.१ किलोमिटर रहेको जानइएको छ ।

144 पटक हेरिएको 














