कुलमान घिसिङ पुनः बिधुत प्राधिकरणको कार्यकारी निर्देशक


सेवारो खबर  141 पटक हेरिएको

काठमाण्डाै: कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको पुन कार्यकारी निर्देशक नियुक्त भएका छन् । उनले पदभार ग्रहण गर्दै सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

बुधवार आज प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका उनले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको उचाइलाई अझै माथि उठाउने गरी काम गर्ने बताए ।

आम नागरिककाे अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि याे जिम्मेवारी दिएको उल्लेख गर्दै नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ उचाइमा लाने गरी काम गर्नेछु । मैले गर्ने भनेको सरकारको कार्ययोजना हो । त्यही कार्ययोजनालाई अघि बढाउने हो । सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो । धेरै अगाडि बढनुपर्नेछ ।’

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई नागरिककाे अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गरे । उनले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पारे । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उनको योजना छ ।

घिसिङले हितेन्द्रदेव शाक्यलाई पनि सरकारले ऊर्जा आयोगमा लगेर सम्मान गरेको बताए । उनले आफूले ठूलो चुनौती मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरी काम गर्ने उल्लेख गरे ।

अघिल्लो कार्यकालमा लोडशेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय सुरु गरेको तथ्य पेस गर्दै घिसिङले भने, ‘यस पटक त्यति बेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौँ । देश, नागरिक र देशको अपेक्षा पूरा गर्न सकिन्छ ।’ @www.ujyaaloonline.comबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार