काठमाण्डौ: सबै किरातीले एउटै साझा लिपि निर्माण गरी प्रयोगमा ल्याउँने उद्देश्यले नौ सदस्यीय विज्ञ कार्यदल गठन गरिएको हो ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा सहितको ‘किरात समन्वय समिति’ले साझा लिपि निर्माण गरी लेखन प्रणालीको विकास गर्ने कार्यदल निर्माण गरेको छ ।
भाषाविद तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डाक्टर तारामणि राईलाई कार्यदलको संयोजक तोकिएको छ । सदस्यमा प्राज्ञ अम्मर तुम्याहाङ, डाक्टर लाल रापचा, डाक्टर गणेस जिमी, गणेश वाम्बुले राई, डिबि आङबुहाङ, ईन्दिरा जिमी, उत्तम सुनुवार रहेका छन् । एक सदस्य पछि थपिने बताइएको छ ।
कार्यदलले २०७८ माघ १ गते भित्रमा किरात सिरिजङगा लिपिलाई साझा रुपमा लेखन पद्धतिमा प्रयोग हुने गरि अध्ययन गर्ने । सम्बन्धित भाषाहरुको लेखनको लागि बर्णहरु निर्धारण गरी वर्णहरुसँग लिपि समायोजन गर्न तालमेल गर्ने र वर्ण तथा लिपि समायोजन गरे पश्चात थप्नु पर्ने नयाँ ध्वनि चिन्ह सहितको लिपि प्रतिवेदन तयार पार्ने बताइएको छ ।
बैठकले किरात सिरिजङगा लिपिलाई साझा रुपमा लेखन पद्दतिमा प्रयोग हुने यो अभियानलाई सकारात्मक रुपमा ग्रहन गर्न अपील गर्दै समुदायमा अभ्यासरत् अन्य लिपिहरुको प्रयोगमा स्वतन्त्रता रहने कुरालाई आत्मसात गरिनेछ भनेको छ ।
साझा लिपिको नाम किरात सिरिजङ्गा लिपि हुँने
कार्यदल निर्माण बैठकले साझा लिपिको नाम ‘किरात सिरिजङ्गा लिपि’ हुँने निर्णय गरेको छ ।
किरात याक्थुङ चुम्लुङले २०४९ सालदेखि नै किरात सिरिजङ्गा लिपि नामाकरण गरी प्रयोगमा ल्याएको किरात लिपिलाई विस्तार गरी सबै किरातीहरुको भाषा अनुसार परिमार्जन गरी साझा लिपि निर्माणमा सहमती भएको बताइएको छ ।
कार्यदलले सम्पूर्ण किराती भाषाहरुलाई किरात सिरिजङगा लिपि लेखनका लागि वर्णहरु निर्धारण गरी समायोजन गर्ने र वर्ण तथा लिपि सार्वजनिक गरे पश्चार थप्नु पर्ने ध्वनी चिन्ह सहितको लिपि प्रतिवेदन तयार गर्नेछ ।
२५ व्यञ्जन र १० स्वर वर्ण रहेको किरात सिरिजङगा लिपिलाई करीब तीन दर्जन किरात भाषाहरुलाई समेट्ने गरी साझा लिपि बनाउनका ४३ व्यञ्जन वर्ण पुर्याउँनु पर्ने कार्यदल संयोजक डाक्टर तारामणी राईको सुझाब छ ।