६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गर्दै मनाइयो


सेवारो खबर  387 पटक हेरिएको

इलाम: ६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । जिल्ला प्रहरी कार्यालय इलामले प्रहरी संगठन र प्रहरी चौकीको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गर्दै दिवस मनाएको हो।

दिवसका अवसरमा ६ जना अमर प्रहरी परिवारलाई दोसल्ला ओडाएर सम्मान गरेको छ । चार जना जग्गादातालाई कदर पत्र प्रदान  गरेको छ । र  ११ जना उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिइएको छ ।

अमर प्रहरी तर्फ लिलाहाङ योगेन, प्रहरी भीम राईको श्रीमती लिलाकुमारी राई प्रहरी अर्जुन योन्जनका बुबा दिलबहादुर, सन्तोष कुमार बुढाथोकीका बुबा रामबहादुर, प्रहरी अमर राईका छोरा रुपेन, प्रहरी तुलसी मगरको छोरी तनिसा मगरलाई  प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले दोसल्ला ओडाएर सम्मान गरे ।

जिल्लाका विभिन्न स्थानमा प्रहरी चौकीको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने इभाङका भीमलाल , टिकालाल खुलाल, दानाबारीका शंकरप्रसाद श्रेष्ठ र चुलाचुलीका बिर्खबहादुर तामाङलाई कदर पत्र प्रदान गरिएको छ ।

उत्कृष्ठ कार्य सम्पादन गर्ने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बु सहित ११ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अमर प्रहरीको स्मारिकामा माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरिएको थियो ।

कार्यक्रमको अवसरमा नेपाल प्रहरीको बिशेष टुकडीद्धारा अमर प्रहरी स्मारिकामा कर्तब्य पालनाको सिलसिलामा सहादत प्राप्त अमर प्रहरीहरुलाई सलामी समेत दिईएको थियो । कार्यक्रममा इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले प्रहरी सबैको साथी भएर काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार