गुणस्तरीय शिक्षाका कुरा र भाषण ! जग निर्माणमा खोइ ध्यानाकर्षण ?


अरुण नेपाल  199 पटक हेरिएको

नेपालको उच्च शिक्षामा सबभन्दा ठूलो योगदान पुर्‍याउदै आएको मुलुकै सबभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उमेर ६ दशक कटेछ ! त्रिविकै एक आङ्गिक क्याम्पस महेन्द्र रत्न वहुमुखी (मरव) क्याम्पस इलामको उमेर पनि ६ दशक कटिसकेछ ! त्रिवि र मरव दुवैको उमेर ६ दशक कटिसक्दा नेपालमा गुणस्तरीय शिक्षाका सम्बन्धमा धेरै नै भाषण सुनिए ! तर ती बडेबडे भाषणले मात्र गुणस्तरीय शिक्षाको माग र आवश्यकता सम्बोधन नहुदोरहेछ भन्ने कुरा पनि यहि अवधिमा राम्ररी नै प्रमाणित भयो ! सर्वप्रथम त गुणस्तरीय शिक्षाका सम्बन्धमा त्यस्ता वडेवडे भाषण गर्नेहरूले भाषणमा भनिएका के कति कुरा कार्यान्वयन भए भनेर गम्भीर आत्मसमीक्षा गरुन् ! अनि ती भाषण किन पानीका फोका जस्तो बिलाएर गए भन्ने सम्बन्धमा चिन्तन मनन गरुन् ! मुलतः उनीहरू धेरैले भनेको व्यावहारिक र बैज्ञानिक शिक्षा भनेको के हो भनेर प्रष्ट पारुन ! गुणस्तरीय शिक्षा प्रदान गर्ने भनेर विश्वविद्यालयले निर्माण गरेका पाठ्यक्रम बमोजिमका उद्देश्य के कति पूरा हुदैछ्न भनेर गम्भीर आत्मसमीक्षा गरुन् !

खोइ पाठ्यक्रमको कार्यान्वयन ?
पाठ्यक्रममा उल्लेख भएका उद्देश्य पूरा गर्न पाठ्यक्रममै उल्लेख भएका क्रियाकलापमा प्राध्यापक र विद्यार्थी दुवै इमान्दारपुर्वक संलग्न हुनु पर्छ कि पर्दैन ? पाठ्यक्रममा उल्लेख भएका क्रियाकलापमा सहभागी हुन पाठ्यक्रममै उल्लेख भएका सबै घण्टी पठनपाठन हुनुपर्छ कि पर्दैन ? सबै घण्टी नै पठनपाठन हुनुपर्छ भने कम्तिमा तोकिएकै समयमा विद्यार्थीको भर्ना कार्यक्रम सम्पन्न हुनुपर्छ कि पर्दैन ? पाठ्यक्रममा उल्लेख भएका सबै घण्टी पठनपाठन हुन सक्ने गरी क्याम्पसले वार्षिक क्यालेन्डर निर्माण गर्नुपर्छ कि पर्दैन ? त्यसरी पठनपाठन हुने हरेक कक्षामा पाठ्यक्रमले निर्देशित गरेका शिक्षण सिकाइ क्रियाकलापमा क्यालेन्डर बमोजिम प्राध्यापक र विद्यार्थी दुवै सकृय ढंगले सभागी हुनुपर्छ कि पर्दैन ? त्यसरी सकृय सहभागी हुन प्राध्यापक र विद्यार्थी दुवै कक्षामा नियमित उपस्थित हुनु एउटा पहिलो र अनिवार्य शर्त हो कि होइन ? प्राध्यापक र विद्यार्थी नै कक्षाकोठामा नियमित रुपमा भेट हुनै नसक्ने हो भने पाठ्यक्रममा उल्लेख भएका उद्देश्य कसरी पूरा हुन्छन् ? गुणस्तरीय शिक्षामा केन्द्रिय भुमिका खेल्ने प्राध्यापक र विद्यार्थी भेट हुने वातावरण नै निर्माण नगरी गुणस्तरीय शिक्षाको डिङ हाक्नुभन्दा ठूलो पाखण्डपन अरु के होला ? के जग नै कमजोड बनाएर बलियो घरको कल्पना गर्न सकिन्छ र ? यस्तै अनेक प्रश्न मनभरी मडारिएर आउन थालेपछि भौतिक र अनलाइन कक्षामा हुने विद्यार्थीको उपस्थिति सम्बन्धि केही तथ्य पस्केर गुणस्तरीय शिक्षाको भाषणमा रमाउने सबै सरोकारवालाको गम्भीर ध्यानाकर्षण गर्न मन लाग्यो !

यस्तो उपस्थितिले गुणस्तर आउँछ ?
कोभिड १९ का कारण विश्वविद्यालयमा भौतिक रुपमा हुदै आएका पठनपाठन नराम्ररी प्रभावित भए । त्यसरी अवरुद्ध पठनपाठनलाई सुचारु गर्ने उद्देश्यले त्रिविले अनलाइन कक्षा संचालनको विकल्प अघि सार्‍यो । अनलाइन कक्षा संचालन सम्बन्धी निर्देशिका जारी गर्‍यो । विभिन्न तहमा प्राध्यापक कर्मचारीलाई तालिम दियो । प्राध्यापक र विद्यार्थीको इमेल आइडी बनाइदियो । अनलाइन कक्षालाई व्यवस्थित ढंगले संचालन गर्ने प्रयास गर्‍यो । मरव क्याम्पस, इलाममा समेत त्रिविको यो योजना कार्यान्वयन गर्ने प्रयास भयो । तर कोभिड १९ को पहिलो लहरसङ्गै शुरु भएको अनलाइन कक्षाको समेत पहिलो लहरकै क्रममा अनलाइन कक्षामा हुने विद्यार्थीको उपस्थितिलाई लिएर गम्भीर प्रश्न उठेपछि मरव क्याम्पस, इलाममा शुरु भएका कतिपय अनलाइन कक्षा वीचैमा तुहिए । पुनः भौतिक रुपमै कक्षा सुचारु हुन थाले । फेरि कोभिड १९ को दोश्रो लहर शुरु भएपछि मरव क्याम्पस, इलाममा पनि अनलाइन कक्षाको समेत दोश्रो लहर शुरु भयो । तर यसपटक उपस्थितिलाई लिएर त्यस्ता गम्भीर प्रश्न खासै उठेनन । बिना कुनै अवरोध अनलाइन कक्षा संचालन भई नै रहेका थिए । कतिपय अनलाइन कक्षा त भौतिक रुपमा कक्षा संचालन हुन थालेपछि पनि जारी रहे ! भौतिक रुपमा कक्षा शुरु भएपछि त्यस्ता भौतिक कक्षामा कतिपय विषयमा विद्यार्थीको उपस्तिथि शुन्य रह्यो । बरु उल्टै अनलाइन मार्फत भैरहेका कक्षा समेत अवरुद्ध भए । यहाँ स्मरणीय कुरा के छ भने अनलाइन कक्षा सुचारु भैरहेकै अवस्थामा मरव क्याम्पसका विद्यार्थी संघसंगठन र क्याम्पस प्रशासनवीच २०७८ साल आस्विन १ गते बैठक बसेछ । अनि २०७८ साल आस्विन १० गतेदेखि भौतिक रुपमै कक्षा संचालन गर्ने निणर्य उक्त बैठकले गरेछ । उक्त निणर्य पश्चात् हिजो अर्थात २०७८/६/२० गतेसम्म १० दिन भौतिक रुपमा कक्षा संचालन भए । तर भौतिक रुपमा संचालन भएका १० वटा कक्षा र भौतिक रुपमा कक्षा संचालन हुनुभन्दा ठीक अगाडि संचालन भैरहेका अनलाइन कक्षामा हुने विद्यार्थीको उपस्तिथिको विश्लेषण गर्दा निकै अनौठो अनुभुति भयो ।

पहिलो अनौठो अनुभूति !
पहिलो अनौठो अनुभुति त यो भयो कि १०० वटा भन्दा बढि अनलाइन कक्षा लिईसकेका शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तह चौथो वर्षमा अङ्ग्रेजी शिक्षामा अध्ययनरत विद्यार्थीले भौतिक रुपमा कक्षामा उपस्थित हुन कठीन हुने भन्दै उनीहरूले अनलाइन कक्षालाई नै निरन्तरता दिन विशेष अनुरोध गरे । अनलाइन कक्षामा सबैजसो विद्यार्थी उपस्थित नहुने भनेपछि उनीहरूको अनुरोधलाई कसरी सम्बोधन गर्ने होला भन्ने कुराले निकै सोचमग्न बनायो । कक्षामै उपस्थित भएर अनलाइन कक्षा लियो भने अनलाइन कक्षा लिने र भौतिक रुपमा कक्षा लिने दुवैखाले विद्यार्थी लाभान्वित हुने निश्कर्ष निकाले । तर दुर्भाग्य नै भन्नुपर्ला कक्षाकोठामा भएका कम्प्युटर र प्रोजेक्टर महिनौंदेखि मर्मत हुन नसकेकाले त्यो निश्कर्ष पनि कार्यान्वयन हुन नसक्ने देखियो । अनि डाटा लिएरै भएपनि मोबाइलबाट नै कक्षाकोठामा उपस्थित भएर पठनपाठनलाई निरन्तरता दिने निणर्य गरे । त्यही निणर्यको कार्यान्वयन गर्दै १० गतेदेखि नै कक्षाकोठामा भौतिक रुपमा उपस्थित भएर पठनपाठनलाई निरन्तरता दिए । तर अर्को अनौठो अनुभुति के भयो भने भौतिक कक्षामा १ जना पनि विद्यार्थी उपस्थित भएनन् ! १० गतेदेखि २० गतेसम्म लगातार १० दिनसम्म त्यसरी पढाउदा पनि भौतिक कक्षामा एकजना पनि विद्यार्थी उपस्थित भएनन् ! अर्को अनौठो अनुभुति के भयो भने अनलाइन मार्फत कक्षा लिन भनेर लिएको डाटा समेत नचलेपछि घरकै वाइफाइको उपयोग गर्दै हिजो अर्थात २०७८/६/२० गतेसम्म ती अनलाइन कक्षा संचालन भए । भौतिक रूपमा कक्षा संचालन हुन थालेपछि चौथो वर्षका कक्षा अनलाइन मार्फत नै संचालन भए पनि बि.एड. तेश्रो वर्षका विद्यार्थीको भौतिक उपस्थिति शुन्य भएपछि कुनै पनि कक्षा संचालन भएनन् ! बि.एड. दोश्रो वर्षका विद्यार्थीको उपस्थिति पनि निकै निराशाजनक रह्यो । बि. एड. प्रथम वर्षका विद्यार्थीले अनलाइन कक्षा र भौतिक रूपमा जनाएको उपस्थितिले अर्को अनौठो अनुभुति गरायो ।

दोश्रो अनौठो अनुभुति !
स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई भौतिक र अनलाइन रुपमा पढाउदा दोश्रो अनौठो अनुभूति भयो ! यो अनुभुति चौथो वर्षको भन्दा अलिक फरक छ । स्नातक तह प्रथम वर्षका विद्यार्थी भौतिक कक्षामा पनि उपस्थित त भए । तर अनौठो त यो भयो कि भौतिक कक्षामा उपस्थित हुने सबैजसो विद्यार्थी पनि तिनै विद्यार्थी थिए जो अनलाइन कक्षामा पनि उपस्थित हुन्थे ! ढिलो क्याम्पस भर्ना गरेका कारण इमेल आइडी बन्न बाकी रहेका केही विद्यार्थी भौतिक कक्षामा उपस्थित भएपनि भौतिक रुपमा उपस्थित बाकी सबैजसो विद्यार्थी अनलाइन कक्षामा उपस्तिथि जनाउने विद्यार्थी नै थिए । भौतिक कक्षामा त अनलाइन कक्षामा उपस्थित नहुने विद्यार्थीको विशेष उपस्थिति होला भन्ने मेरो अनुमान गलत भएकाले पनि मलाई निकै अनौठो अनुभुति भएको हो कि जस्तो पनि लागिरहेको छ ! अझै अनौठो अनुभुति त यो भयो कि अनलाइन कक्षा नलिएपनि वा कक्षाकोठाको प्रोजेक्टरले काम नदिए पनि विद्यार्थीले चाहिँ स्लाइडको अपेक्षा गरेको अनुभुति भयो । कतिपय विद्यार्थीले त स्लाइड उपलब्ध गरिदिनुपर्‍यो भनेर अनुरोध नै गरिरहेका छन् ! पाठ्यक्रममा उल्लेख भएका प्रयोगात्मक क्रियाकलाप अनलाइन मार्फत नै गरेर बुझाए ! उनीहरूले अनलाइन र भौतिक कक्षामा जनाएको उपस्थिति उस्तैउस्तै देखियो । अधिकांस विद्यार्थी दुवै कक्षामा उपस्थित भए । नियमित रुपमा अनलाइन कक्षामा उपस्थित हुने केही विद्यार्थी भौतिक कक्षामा उपस्थित भएनन् भने अनलाइन कक्षामा उपस्थित नहुने केही विद्यार्थी भौतिक रुपमा पनि उपस्थित भए; तर ती मध्ये धेरै चाहिँ इमेल आइडी नबनेकैले अनलाइन कक्षामा उपस्थित हुन नसकेको पाइयो !

तेस्रो अनौठो अनुभुति !
अनलाइन र भौतिक कक्षामा हुने विद्यार्थीको उपस्थितिको तरिकाले पनि केही अनौठो अनुभुति भयो । भौतिक कक्षामा कक्षाको शुरुमै सबैजसो विद्यार्थी उपस्थित भए पनि अनलाइन कक्षामा विद्यार्थी प्रवेश गर्ने र जोडिने क्रम चलिरहदोरहेछ । अनियमित बिजुली आपूर्ति र कम गुणस्तरीय ईन्टरनेटकै कारण एउटै विद्यार्थी १४/१५ पटकसम्म अनलाइन कक्षामा प्रवेश गर्दै निस्किदै गरेको पनि पाइयो । कतिपय विद्यार्थी विद्यालयका शिक्षक भएकाले उनीहरू विद्यालयबाट नै अनलाइन कक्षामा जोडिए । कतिपय विद्यार्थीहरु कर्मचारी भएर पनि उनीहरूले आआफ्ना कार्यथलोबाट समेत अनलाइन कक्षामा उपस्थिति जनाए । कतिपय विद्यार्थीले त बाटोमा हिड्दै गर्दा पनि अनलाइन कक्षामा सक्रिय सहभागिता जनाए । भौतिक रुपमा संचालन हुने कक्षामा अनिवार्य रूपमा कक्षामै उपस्थित हुनुपर्ने भए पनि अनलाइन कक्षामा जहाँबाट पनि उपस्थिति जनाउन सकिने कुरा मेरा लागि निकै नौलो अनुभुति रह्यो ।

चौथो अनौठो अनुभुति !
भौतिक रुपमा उपस्तिथिति जनाउन कुनै पनि हालतमा नसक्ने अवस्थामा समेत विद्यार्थी र शिक्षक दुवैले अनलाइन कक्षामा उपस्तिथि जनाउन सम्भव हुदोरहेछ भन्ने निकै अनौठो अनुभुति यहि अवधिमा गर्न पाइयो । कोभिड १९ जस्तो महामारीले ग्रस्त बनाउदा समेत पठनपाठनलाई महत्व दिने विद्यार्थी ओछ्यानबाटै अनलाइन कक्षामा जोडिन सक्दारहेछ्न भन्ने कुरा एकजना विद्यार्थीले प्रमाणित गरेरै देखाइदिइन । गार्‍हो भएको छ भने अनलाइन कक्षामा नजोडिनु भन्दा पनि उनी पूरा समय सबै अनलाइन कक्षामा उपस्थित भएरै छाडिन । अर्को अनौठो अनुभुति त यो भयो कि, ती विद्यार्थीले शैक्षिक शत्रभरी संचालन भएका हिजोसम्मका एउटा पनि कक्षा छुटाइनन । कोभिड १९ ले च्याप्दा उनी २/४ दिन एक शब्द पनि बोलिनन, तर उनीले ध्यानपुर्वक पढाएको कुरा सुनिन । अनि ठीक भएपछि पहिला झैं सक्रिय सहभागिता जनाउन थालिन् । त्यस्तै अनौठो अनुभुति म आफैलाई पनि भयो ! युरिकएसिडले क्याप्प बनाएका कारण मलाई २/४ दिन बाथरुमसम्म पुग्न नै समस्या भयो ! यस्तो अवस्थामा भौतिक रुपमा उपस्थित भएर लिने कुनै पनि कक्षा मैले विगतमा लिन सकेको थिएन ! तर यसपटक कुर्सीमा बसेर अनलाइन कक्षा संचालन गरियो । त्यसरी कक्षा लिदा युरिक एसिडले दिएको त्यो पीडा समेत केही दुर भएजस्तो अनुभुति भयो ।

निश्कर्ष:
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्काय अन्तर्गत स्नातक तह प्रथम, द्धितीय, तृतीय र चौथो वर्षका विद्यार्थीलाई अनलाइन र भौतिक रुपमा पढाउदा भएका यी केही प्रतिनिधिमुलक फरकफरक अनुभुतिले विद्यार्थीको अधिकतम उपस्थितिमा जोड दिएर गुणस्तरीय शिक्षाको बलियो जग निर्माण गर्ने हो भने अब युग सुहाउँदो प्रविधिमैत्री उपाय अपनाउन सबै सरोकारवाला एकपटक जुरुक्कै जाग्नुपर्ने कुरा गहिरोसङ्ग अनुभुति भयो । सबै कक्षाकोठालाई प्रविधिमैत्री बनाएर सहज ईन्टरनेटको व्यवस्था गर्ने हो भने भौतिक र अनलाइन दुवै तरिकाले कक्षा लिन इच्छुक विद्यार्थी लाभान्वित हुन सक्नेरहेछ्न । त्यति मात्र होइन, २१ औं शताब्दीको पहिचान, माग र आवश्यकता बनेको प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलापलाई अभ्यास गर्ने यो एक उत्तम र व्यावहारिक उपाय रहेछ ! माथि उल्लेख गरिएजस्ता यी केही अनौठा अनुभुतिमा टेकेर म यो दावी गर्न सक्छु कि, अनलाइन र भौतिक दुवै कक्षा संचालन गर्न सक्ने प्रविधिमैत्री, स्वस्थ र स्वच्छ प्राज्ञिक वातावरण निर्माण हुने हो भने गुणस्तरीय शिक्षाको बलियो जग निर्माण गर्ने ठोस परिस्थिति पैदा भएको छ । सबै सरोकारवाला गुणस्तरीय शिक्षाको बलियो जग निर्माण गर्न भाषणमा भन्दा व्यवहारमा खरो उत्रन तयार हुने हो भने त्यो कार्य सम्भव देखिन्छ । यसका लागि सबै सरोकारवालाको दृढ इच्छाशक्ति नै काफी हुने देखिन्छ ! प्राध्यापक र विद्यार्थी कक्षाकोठामा भेटै नभैकन गुणस्तरीय शिक्षाको डिङ हाक्ने पाखण्डपन आजै र अहिल्यै त्यागौ । धेरै भन्दा धेरै बिद्यार्थी उपस्थित हुन सक्ने अनलाइन र भौतिक कक्षाका दुवै उपाय अवलम्बन गर्न कति पनि ढिला नगरौं । व्यावहारिक रुपमै गुणस्तरीय शिक्षाको बलियो जग हाल्ने दीर्घकालीन महत्वको यो लम्बे अभियानको शुरुवात तत्काल गरौं । गुणस्तरीय शिक्षाको भाषणमा रमाउने वा विद्यार्थीको उपस्तिथि जस्तो गुणस्तरीय शिक्षाको जग निर्माण गर्ने कटिलो विषयलाई वेवास्ता गरेर तपसीलका विषयमा जस लिन होडबाजी गर्ने तर व्यवहारमा विश्वविद्यालयलाई दलीय दलदल, गुटगत चलखेल र भागवण्डे कुसंस्कारको अँध्यारो सुरुङ्गमा धकेलेर विश्वविद्यालयको प्राज्ञिक वातावरण तहसनहस गर्ने र नगर्ने सबै सरोकारवालाको गम्भीर ध्यानाकर्षण होस् !!!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार