स्थानीय तहको चुनाव चैत ५ गतेभित्र गर्न आयोगको सिफारिस


सेवारो खबर  126 पटक हेरिएको

काठमाण्डौं: निर्वाचन आयोगले आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा सोमबार आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।

स्थानीय तहका सम्पूणर् पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ ।

२०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगले जनाएको छ ।

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचन सम्बन्धी कानुनमा म्याद सकिनु भन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोही अनुसार सिफारिस भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

निर्वाचनका बारेमा सरकारले उपयुक्त निणर्य गर्ने आश्वासन प्रधानमन्त्री देउवाले आयोगलाई दिएका छन् ।

यसैबीच स्थानीय तहका रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने भएको छ ।

स्थानीय तहको कार्यकाल धेरै बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने आयोगले बताएको हो । तर प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निणर्य लिइने बताएका छन् । यस्तै आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ । @ratopati.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार