पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले गर्‍यो प्रर्दशन


सेवारो खबर  206 पटक हेरिएको

इलाम: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले इलाम बजारमा प्रर्दशन गरेको छ । ठूलो टुँडिखेलदेखि शुरू गरेको बिरोध र्‍याली चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष मिलन खत्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरे । उनले नागरिकको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि फिर्ता गरेर सर्वसुलभ सेवा दिनु पर्नेमा जोड दिए ।

यस्तै काठमाण्डौमा इन्धनको बढेको मूल्य फिर्ता लिन उपभोक्ता मञ्च, विद्यार्थी सङ्गठन र यातायात व्यवसायीले माग गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पटक-पटक भइरहेको इन्धनको मूल्य वृद्धिले नागरिक ठूलो मारमा परेको बताए । उनले उपभोक्ताको चुलो निभ्ने अवस्था रहेको भन्दै इन्धनमा भएको मूल्य वृद्धि फिर्ता लिन माग गरे ।

सत्तारुढ दल कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसङ्घ) का महामन्त्री बलदेव तिमल्सिना, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुदेश पराजुली, नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका महासचिव समिक बडाललगायतले आफूहरूको एकसूत्रीय माग मूल्य वृद्धि फिर्ता गर्नु रहेको र नभए आन्दोलन निरन्तर रहने बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले तत्काल मूल्य वृद्धि फिर्ता नभए सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिए । निगमले गरेको मूल्य वृद्धि फिर्ता नभए यातायातको पनि भाडा बढाउन बाध्य हुने उनको भनाई छ ।

यद्यपि आयल निगमले बढेको मूल्य फिर्ता नहुने जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेको अवस्थामा मूल्य वृद्धि फिर्ता लिन नसकिने बताएका छन् । उनले मूल्य वृद्धि नगर्दा निगमलाई अरबौँ घाटा हुने भएकाले बाध्य भएर बढाउनु परेको जनाए ।

पछिल्लो पटक निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर तीन/तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार