जनगणनामा आदिवासी जनजाति संगठनहरूको ध्यानाकर्षण, त्रुटी सच्याउँन माग


सेवारो खबर  295 पटक हेरिएको

काठमाण्डौं: आदिवासी जनजाति महासंघले राष्ट्रिय जनगणनाको गणना कार्यमा भइरेको त्रुटिहरूमा ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ लगायत दश सामुदायिक संस्थाले निकालेको संयुक्त प्रेस विज्ञप्तीमा गणकले सम्बन्धित घरमूलीसँग जाति, भाषा, धर्म सम्बन्धी कतिपय प्रश्न नै नसोधी नियतवस हिन्दू धर्म र नेपाली भाषा लेखि तथ्याङ्क संकलन गरिरहेको भन्ने सूचना आएकोले सो सम्बन्धमा नेपालका आदिवासी जनजाति संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेवाः देयः दबू अध्यक्ष नरेशकुमार ताम्रकार, तमु ह्युल छौंज धिँ गुरुङ राष्ट्रिय परिषद् अध्यक्ष रेशम गुरुङ, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष प्रेम यक्तेन, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामी, ह्योल्मो समाज सेवा केन्द्र महासचिव टासी दोङ्वा ह्योल्मो, र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग संघ अध्यक्ष गंगा छन्त्यालले हस्ताक्षर गरेको विज्ञप्तीमा कमजोरी, त्रुटी र लापरबाही तत्काल सच्याउन र गणकले लापरबाही गरेको स्थानमा पुनः गणना गर्न आग्रह गरिएको छ ।

विज्ञप्तीमा जनगणनापछि प्रकाशित प्रतिवेदन नेपालको समग्र वास्तविक स्थिति प्रतिविम्बित गर्ने ऐना भएको र यसकै आधारमा राज्यले विकासका भावी योजना तथा नीति निर्माण गर्ने हुँदा यस्तो प्रतिवेदन सत्य र तथ्यमा आधारित हुनु जरुरी छ । आजसम्म भएको गणनाहरूमा नेपालका आदिवासी जनजातिहरूको वास्तविक तथ्याङ्क आउन नसकेको सन्दर्भमा १२ औं राष्ट्रिय जनगणनालाई हामीले गम्भीर चासोका साथ हेरिरहेका छौ भनिएको छ ।

यस सम्बन्धमा मिति २०७८ कात्तिक २९ गते केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठलाई जातीय संस्थाका प्रतिनिधिहरूले प्रत्यक्ष भेटी कुरा राख्दा उहाँले सूचनादाताले जाति, भाषा र धर्मको सम्बन्धमा जे भन्दछ, त्यही अनुसारको तथ्याङ्क गणकले संकलन गर्नुपर्ने कुरा बताउनु भएको हुँदा यसखालको कमि अन्यथा, नेपालका आदिवासी जनजातिहरूले मिथ्याङ्क प्रतिवेदन स्वीकार गर्न नसक्ने समेत यसै विज्ञप्ती मार्फत जानकारी गर्दछौ भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार