इलाम: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव इलाममा पनि देखिएको छ ।
बन्दले लामो तथा छोटो दूरीका सवारी साधान सञ्चालनमा आएनन् । गाउँदेखि सदरमुकामसँगै पालिका केन्द्रसम्म पनि सवारी साधन ठप्प भए ।
सबै खालका विद्यालय खुलेनन । बजार, पसल, उद्योगलगायत सञ्चालन भएनन् । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको उपस्थीति त्यति देखिएन ।
सवारी साधन सामान्य सञ्चालनमा आएपिन बन्दको समयमा अप्रिय घटना नभएकाे जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएकाे छ ।
समग्रमा पूर्वी एक नम्बर प्रदेशमा बन्दको प्रभाव आंशिक देखिएको छ ।
सार्वजनिक यातायात साधान नचल्दा सर्वसाधारण नागरिकले समस्या भोग्नु परेको छ । तर अन्य सवारी साधन भने फाटफुट रुपमा राजमार्गमा गुडेका छन् ।
सार्वजनिक सवारी साधान नचलेका कारण कतिपय ठाउँमा गन्तव्यमा हिँडेका यात्रु बजार र चोक-चोकमा अलपत्र परेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरोधमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आह्वान गरेको थियो ।
इलामका २ सहित ३१ जना बन्दकर्ता पक्राउ
एक नम्बर प्रदेशमा ३१ जना बन्दको आव्हान् गर्दै सडकमा निस्किएका विप्लव कार्यकर्तालाई पक्राउ गरिएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इलाम इन्चार्ज सुमन सिंहका अनुसार इलाममा २ झापामा ८ र इटहरीबाट २१ पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये इलामको विनोद मगर र मंगेश रानालाई दश घण्टापछि छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
अन्य २८ जनालाई यो समाचार तयार पार्दासम्म नछोडिएको जिल्ला इन्चार्ज सिंहले जानकरी गराए । पार्टीका जिल्ला सचिव जीतमान राई मौसमलाई इलाम बजारकाे टुँडिखेलमा सशस्त्र प्रहीले दुई घण्टा नियन्त्रणमा राखी छोडेकाे बताइएको छ ।
उदयपुरको गाईघाटमा सवारीसाधन बन्दको आह्वान गर्दै सडकमा निस्किएका विप्लव कार्यकर्तालाई प्रहरीले तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
बन्दको क्रममा अहिलेसम्म प्रदेश १ मा कुनै अप्रिय घटना भने नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।