पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रम सम्पन्न


सेवारो खबर  405 पटक हेरिएको

काठमाडौँः पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याउँनुपर्ने, सञ्चारकर्मीले सुझाव राखेका छन् ।

प्रेस काउन्सिलको आयोजनामा सोमबार  भएको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले आचारसंहिता पत्रकारको मुल मन्त्र भएकाले कार्यान्वयन र व्यवहारगत अभ्यासमा जोड दिनुपर्ने बताए । देवेन्द्र चुडालले राजनीति नसुध्रेसम्म स्वस्थ पत्रकारिता हुन नसक्ने भन्दै राजनीति सफा भएमा पत्रकारिता स्वच्छ हुने धारणा राखे । हरि लम्सालले पत्रपत्रिकाको वर्गीकरण समयमा नै गर्न सुझाव दिए ।

पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले सुचनाको हक कार्यान्वयन हुनसके मात्र देशमा सुशासनको प्रत्याभूति हुनेमा जोड दिए ।

पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईँले देशको समग्र पत्रकारितालाई उपत्यकाले प्रतिनिधित्व गर्ने भएकाले जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।

काउन्सिलका सदस्य चिरञ्जीवि मास्केले उपत्यकाका पत्रकार भन्दा मोफसलका पत्रकार बढी जिम्मेवार भएको अनुभव राखे ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका मिडियामाथि धेरै प्रश्न उठने गरेकाले चुनौतीका पहाड चिर्दै अघि बढ्ने बताए । उनले पत्रकार आचारसंहिताले गर्न हुँदैन भनेको कार्य गर्ने परिपाटीले पत्रकारिता बदनाम बन्दै गएको जानकारी गराए ।

अध्यक्ष बस्नेतले पत्रपत्रिकाको वर्र्गीकरण लामो समयसम्म रोकिदा स्वरोजगारमुलक पत्रिकालाई समस्या परेकाले वर्गीकरणको नतिजा छिट्टै आउने स्पष्ट पार्दै भने ‘अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको छौं । विना दर्ता चलेका अनलाइनलाई दर्ताको लागि ताकेता हुने गरेको छ । युट्युवको कानुन नभएपनि काउन्सिलले विषयवस्तु हेरेर कारबाही गर्दै आएको छ’ ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलमा सबै सञ्चार माध्यमको अभिलेखिकरण हुने र अनलाइनमार्फत उजुरी दिन सकिने व्यवस्था गरिएको भन्दै भ्रम फैलाउने सामाजिक सञ्जाललाई तीनको कार्यालयमा सो विषयमा जानकारी गराउन थालिएको जानकारी गराए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले उपत्यकामा पत्रकार आचारसंहिता पालना शीर्षकमा प्रस्तुति राख्दै उपत्यकामा मिडिया धेरै हुनुको कारण, पत्रकार आचारसंहिता पालनाको अवस्था र प्रभाव लगायतका विषयमा चर्चा गरे । उनले पत्रकारिताको धर्म पालना गर्नसके मात्र आचार संहिता उल्लघंनमा कमी आउने विचार राखेका थिए ।

काउन्सिलको आचारसंहिता अनुगमन तथा उजुरी महाशाखा प्रमुख रामशरण बोहराले पत्रकार आचारसंहिताको अवधारणा, नेपालमा आचार संहिताको इतिहास, पत्रकार र सञ्चार माध्यमको कर्तव्यबारे प्रस्तुति राख्दै काउन्सिलले गर्ने गरेको कारबाही, निर्णय, खण्डन ध्यानाकर्षण, क्षमायाचनाको निर्देशन, सचेतताको लागि पठाइने पत्रजस्ता विषयमा प्रकाश पारे ।

प्रमुख बोहोराले सञ्चार माध्यम र पत्रकारले आचारसंहिता उल्लङ्घन गरेमा प्रेस पास निलम्बनको सिफारिस देखि, अनलाइन बन्द गरिने, लोककल्याणकारी विज्ञापन राक्ने तथा कालोसूचीमा राख्नेसम्मको अभ्यास भएको जानकारी दिए ।

उनले विभिन्न अनलाइन, रेडियो, पत्रिका र टेलिभिजनमा आएका सकारात्मक र नकारात्मक सामग्रीको उदाहरण दिनुहुँदै काउन्सिलमा आएका उजुरीको सङ्ख्या, कारबाही, अनलाइन उजुरी प्रणाली तथा काउन्सिलले गर्दै आएको स्वअनुगमनबारे जानकारी प्रष्ट पारेका थिए ।

कार्यक्रमको सहजिकरण एवं सञ्चालन मुख्य अधिकृत झबिन्द्र भुसालले गरेका कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे, वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल लगायतका उपत्यकाका पत्रकारहरूको उपस्थिति थियो । @www.presscouncilnepal.gov.np बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार