इलामः करिब दुई वर्षपछि सूर्योदय नगरपालिकाको अन्तुपोखरीमा पुनः डुङ्गा सञ्चालन शुरू भएको छ ।
कोरोना महामारीले बन्द रहेका डुङ्गा सञ्चालन मंगलबार देखि पुनःसुरू गरिएको नगरपालिकाले जनाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलो पटक नगरपालिका आफैले डुङ्गा सञ्चालन शुरू गरेको छ ।
नगर प्रमुख रणबहादुर राई, वडाध्यक्ष मदुसुदन लामिछाने सहितको टोलीले पोखरीमा डुङ्गा चढेर सञ्चालन सुरुवात गरेका हुन ।
डुङ्गा सञ्चालनमा ल्याएपछि अन्तु घुम्न आउने पर्यटकले डुङ्गा चढेर अन्तु पोखरीमा मज्जा लिन पाउँने भएका छन् । नगरले तीन वटा डुङ्गा सञ्चालन सुरू गरेको नगर प्रमुख रणबहादुर राईले जनाकारी गराए ।
प्रमुख राईले पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको बताउँदै उनले भने, ‘अन्य पर्यटकीय स्थलहरूसँगै अन्तुपोखरीमा डुङ्गा पनि थप थपिएको छ ।’
प्रमुख राईका अनुसार पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुङ्गा सञ्चालनमा ल्याउँन करिब ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
एक पटक डुङ्गामा चढेर पोखरी फन्को मार्न ५० रुपैयाँ लाग्ने जनाइएको छ । डुङगा चढ्नलाई १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ ।
केही वर्षअघि निजी क्षेत्रले डुङ्गा सञ्चालन गर्दा सुरक्षामा जोखिम देखिएको भन्दै नगरपालिकाले सञ्चालनको मापदण्ड बनाएको छ ।
तोकिएको मापदण्ड अनुसार स्थानीयले नै जिम्मा लिएर डुङ्गा सञ्चालन गरेका थिए । कोरोना महामारीका कारण लामो समयदेखि डुङ्गा सञ्चालन बन्द भएको थियो ।
कसरी पुग्ने अन्तुडाँडा र पोखरी ?
बिहानै सूर्योदय अवलोकन स्थल अन्तुडाँडाको पहिचान हो । सूर्योदय अवलोकनपछि अन्तुपोखरीमा डुङ्गाको आनन्द लिन सकिन्छ । चारैतिर चियाका बोटहरूसँग अवलोकन गर्दै पर्यटकले छुट्टै मनोरञ्जन लिन सकिने बताइन्छ ।
मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तु जाने बाटो छुट्टिन्छ । करिब १३ किलोमिटर दुरिमा अन्तुडाँडा पुगिन्छ । सडक कालोपत्रे छ । जिप, कार, भ्यान र मोटरसाइकलमा अन्तु पुग्न सकिन्छ ।