इलाम: नीजि तथा आवसीय विद्यालय संगठन (प्याब्सन) इलामको नवौं जिल्ला अधिवेशन पुस ३ गते शनिबार इलाम बजार हुँदैछ ।
अधिवेशनको सम्पूणर् तयारी पूरा भएको शुक्रबार पत्रकार भेटघाट गरी प्याब्सनले जानकारी दिएको छ ।
अधिवेशनको अवसरमा प्याब्सन इलामको इतिहास समेटिएको स्मारिका लोकार्पण हुनेछ ।
‘प्याब्सन रिभ्यू इलाम भोल्युम वान’ नामक स्मारिकाको लोकार्पण पूर्व संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले गर्ने जनाएको छ ।
अधिवेशनको अवसरमा लामो समयदेखि संस्थागत विद्यालयमा शिक्षण गर्दै आएका तीन जना शिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको प्याब्सन जिल्ला अध्यक्ष विकास कर्मचार्यले जानकारी गराए ।
विगत ३१ वर्षदेखि संस्थागत विद्यालयमा कार्यरत हाल ज्योतिसदन बोर्डिङ स्कूल इलामका शिक्षक सूर्य खवास, २८ वर्षदेखि संस्थागत विद्यालयमा कार्यरत हाल सूर्योदय शिक्षा सदन मंगलबारेमा कार्यरत पदम राई र २३ वर्षदेखि संस्थागत विद्यालयमा कार्यरत हाल ग्रीन भ्याली एकाडेमी इलामकी चन्द्रा प्रधान रंजितकारलाई सम्मान गरिनेछ ।
त्यस्तै उत्कृष्ट विद्यायका रुपमा माइपोखरी एकाडेमी सन्दकपुर-३ र उत्कृष्ट प्याब्सन कार्य समितिमा देउमाई नगरकार्यसमितिलाई सम्मान गरिन जनाएको छ ।
‘शिक्षामा गतिशीलता, निरन्तरता र गणस्तरीयता, प्रविधिको उच्चतम सदुपयोग सबै विद्यालयमा हपरिहार्यता’ भन्ने मूल नाराका साथ हुने अधिवेशनमा ९३ जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले ३ वर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
जिल्लामा १ सय १८ वटा संस्थागत विद्यालय छन् ।जसमध्ये हालसम्म ९३ विद्यालय प्याब्सनमा आवद्ध छन् । आधिकारित तथ्याङ्क नभएपनि हाल संस्थागत विद्यालयमा करिब २० हजार विद्यार्थी अध्ययनरत, २ हजार शिक्षक कार्यरत र १० करोडको हाराहारीमा लगानी रहेको व्याब्सनको अनुमान छ ।