‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया


सेवारो खबर  251 पटक हेरिएको

इलाम: नेपाल पत्रकार महासंघले शनिबार इलाममा ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णुप्साद भट्टराइले चियाको बिकास र यसको बजारीकरणमा पहुँच पुर्‍याउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताए । उनले गुणस्तरीय नेपाली चियाको निर्यातमा रोक्न नसक्नेमा जोड दिए ।

बोर्ड सबै किसान समक्ष पुग्न नसकेपनि सञ्चार क्षेत्रको माध्यमबाट किसानका आवाजलाई उठाएर जनचेतनामा सघाउ पुरयाउन सक्ने उल्लेख गर्दै, अन्तराष्ट्रिय बजारमा नेपाली चियाको बिस्तार बढाउन परियोजनाले काम गर्ने जानकारी गराए ।

चिया क्षेत्रको समग्र विकासका लागि सरोकारवाला बीच एकता आवश्यक छ उनले भने‘ चिया उत्पादन देखि निर्यातसम्म इमान्दारिता हुनुपर्छ । किसानसँग समन्वय गरी बजारिकरण गर्नुपर्नेमा जोड दिनुर्छ ।’

चिया बिस्तार आयोजना फिक्कल र मंगलबारेका प्रमुख इन्द्र प्रसाद अधिकारीले चिया क्षेत्रका समस्या राख्दै समाधानमा बिषयमा सरकारले नीतिगत रुपमा नै बाहिरी देशसँग पहल गर्नु पर्नेमा जोड दिए ।

अर्गानिक चियाको गुणस्तर बढाउँदै व्यापार प्रवर्द्ध गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ ल्याएको जनाइएको छ ।

परियोजनाले किसानसँग चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाई, ढुवानी, प्रशोधन, प्याकेजिङल गायतको काम गर्दै र उद्योगीलाई प्रयोगात्मक अभिमुखीकरण गर्ने छ ।

परियोजना अन्तर्गत जिल्लामा किसानका ११ समूह गठन भएका छन् । जिल्लामा छरिएका सबै समूहको कार्यक्षेत्रमै पुगेर प्राविधिकले चियाको कटिङ सहित मौसम अनुसारका काम सिकाउने छन् ।

अर्गानिक चिया उत्पादनका लागि आवश्यक सामग्री, तालिम, सचेतना, प्रोत्साह लगायत कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ । परियोजनाले अर्गानिक उत्पादन मात्र नभई किसानको चिया अर्गानिक प्रमाणीकरणका लागि समेत सघाउनेछ । यसका साथै उत्पादित अर्गानिक चियाको परिमाण-गुणस्तर दुबै बढाएर बाह्य तथा आन्तरिक बजारमा खपत बढाउने क्रियाकलाप गरिने बोर्डले जनाएको छ ।
नेपालमा उच्च गुणस्तरको अर्गानिक अर्थोडक्स चिया उत्पादन हुन्छ । बोर्डले निश्चित मापदण्ड पुर्‍याएका चिया किसान, उद्योगी र व्यापारीलाई ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको आधिकारिक ट्रेडमार्क प्रदान गर्ने गरेको छ ।

करिब १८ करोड रुपैयाँ खर्च हुने यो परियोजना ३६ वर्षसम्म संचालन हुनेछ ।

परियोजनासँग संचार संस्था र सञ्चारकर्मीले के गर्छन ?
परियोजनाको संचार प्रवर्द्धन नेपाल पत्रकार महासंघ इलाम शाखाले गर्नेछ । त्यसका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल पत्रकार महासंघबीच सम्झौता भएको छ ।

परियोजनाको संचार प्रवर्द्धन अन्तर्गत जिल्लाको २० जना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिनेछ ।

नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजनासँग सम्बन्धित गतिविधिहरुलाई स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा प्रकाशन र प्रशारणका लागि पत्रकारलाई ५/५ हजार रुपैयाँको लेखनवृति प्रदान गरिने नेपाल पत्रकार महासघंका अध्यक्ष विप्लभ भट्टराईले जानकारी दिए ।

‘जिल्लाबाट स्थानीय र राष्ट्रिय रेडियो, टेलिभिजन, छापा पत्रिका र अनलाइन पत्रिकामा कार्यरत २० जना पत्रकार छनौट गरी परियोजनाको गतिविधि प्रचारप्रसारका लागि लेखनवृति प्रदान गरिनेछ ।

अध्यक्ष भट्टराईका अनुसार ‘पत्रकारको छनौट महासंघले नै आवश्यक मापदण्ड तयार गरी गर्नेछ । छनौट भएका पत्रकारहरुले परियोजनासँग सम्बन्धित एक/एक वटा अनुसन्धानमूलक समाचार एवम् सफलताको कथा आफ्नो संचारमाध्यमा प्रकाशन/प्रशारण गर्नुपर्नेछ ।

परियोजनाद्वारा अन्तर्गत संचालित गतिविधिहरुलाई स्थानीय संचारमाध्यम (रेडियो, छापा पत्रिका, अनलाइन पत्रिका) मार्फत प्रचारप्रसार गर्न मिडिया सपोर्ट गरिनेछ ।

जिल्लाबाट संचालित एफएम रेडियो, छापा एवम् अनलाइन पत्रिकामार्फत प्रचारप्रसार गरिनेछ । संचारमाध्यमले परियोजनासँग सम्बन्धित साक्षात्कार, छलफल र अन्य प्रासंगिक आलेखहरु, समाचार, अन्तरवार्ता, फोटो, सफलताको कथा, सूचनालगायतका सामग्री प्रकाशन/प्रशारण गर्नुपर्नेछ । सामग्री प्रकाशन/प्रशारण वापत त्यस्ता संचारमाध्यमलाई समेत आर्थिक सहयोग प्रदान गरिने महासंघले जनाएको छ ।

परियोजनाले जिल्लाका किसानलाई पहिलो चरणको प्रशिक्षण सञ्चालन गरिसकिएको छ । हरेक ३० किसानका लागि कम्तीमा दुई प्राविधिकको अवधारणाअनुसार काम हुनेछ । पहिलो चरणमा २ हजार ७ सय ९० किसानले चियाको प्राविधिक सीप सिक्नेछन् ।
तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि विक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिङ’ गर्ने पनि परियोजनाको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार