इलाम: इलाम नगरपालिकाले ‘इलाम सामुदायिक आँखा अस्पताल’बाट बुधबारदेखि उपचार सेवा शुरू गरेको छ । नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले संयुक्त रूपमा उद्घाटन गरेसँगै सेवा सुचारू गरेको नगरपालिकाले जनाएको छ ।
अस्पतालले शुरू गरेको उपचार सेवाले आँखाको सामान्य रोगी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताइएको छ ।
नगरपालिकाले सञ्चालनमा ल्याएको आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल भएको भनिएको छ ।
अस्पतालमा तत्काललाई शल्याक्रिया बाहेकका सेवा उपलब्ध छन् । यसका साथै आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा उपलब्ध छ ।
अस्पतालमा सातौँ तहको एकजना नेत्र विषेशज्ञ, पाँचौ तहको एकजना नेत्र सहायक, एकजना फार्मेसिष्ट र एकजना चस्मा बनाउने प्राविधिक छन् ।
अस्पतालले अहिले बिर्तामोड आँखा अस्पतालसँग सहकार्य गर्ने बताइएको छ ।
आँखा अस्पतालको सहकार्यमा समय-समयमा शल्यक्रियाको समेत सुविधा दिइने नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।
शल्यक्रिया गर्नुपर्ने बिरामीको स्क्रिनिङ गरेर निश्चित समयमा शल्यक्रिया पनि यही अस्पतालमा गराउने गरी साझेदारी भएको प्रमुख बस्नेतले जानकारी गराए ।
प्रमुख बस्नेतका अनुसार शल्यक्रियाका लागि चाहिने औजार उपकरण खरिद नगरेसम्म बिर्तामोड आँखा अस्पतालले नै आवश्यक सामग्री व्यवस्थापन गर्नेछ ।
नगरपालिकाले सिहबाहिनी खोल्सीलाई व्यवस्थित गरेर निस्किएको ठाउँमा अस्पताल निर्माण गरेको हो । एकतले भवनमा ६ कोठा भएको आँखा अस्पताल निर्माण गरिएको छ ।
अस्पताल निर्माण शुरू भएको आठ महिनापछि सेवा सुरु भएको जनाइएको छ ।
आँखा अस्पतालको लागि थप आवश्यक भवन बनाउन जग्गाको ब्यवस्था समेत गरिएको नगरपालिकाका प्रमुख बस्नेतले जानकारी गराए ।
रत्न वान्तवाको समाधिस्थल भन्दा माथि र निर्माणाधिन जनकदेव चोकभन्दा मुनिको जग्गा आँखा अस्पतालको लागि छुट्याएको नगर प्रमुख बस्नेतले बताए ।
‘अस्पतालाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्न यो जग्गा पर्याप्त भएको बताउँदै प्रमुख बस्नेतले नगरपालिकाले छुट्याएको मध्येबाट बचेको रकम समेत आँखा अस्पतालको भौतिक र गुणस्तर वृद्धि गर्न खर्चिने जानकारी गराए ।
अस्पताल निर्माण गर्न ५७ लाख खर्च
अस्पताल निर्माणमा ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ ।
निर्माण खर्च मध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगत र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष विद्या सापकोटाले जानकारी दिइन् ।
अस्पताल निर्माण गर्न नगरपालिकाले अघिल्लो आर्थिक वर्षको बजेट रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालू आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन गरेको नगरपालिकाले जनाउकोे छ ।
अस्पताल सञ्चालनका लागि छुट्टै कार्यविधी
नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन गर्न छुट्टै कार्यविधी बनाएको छ ।
अस्पताल सञ्चालन र व्यवस्थापनको गर्न स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको नगरपालिकाले जनाएको छ ।
कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालन समिति गठन हुने व्यवस्था गरेको छ ।
कार्यविधिकै आधारमा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष तथा उपप्रमुख सुशीला नेम्बाङले जानकारी दिइन् ।
उपप्रमुख नेम्बाङले ‘आँखा अस्पताल सञ्चालन गर्न चुनौती छ । उनले भनिन्, हामी गुणस्तरीय सेवा दिने पक्षमा छौ ।’